सनातन-मनोविज्ञान

सनातन-मनोविज्ञान

सनातन-मनोविज्ञान

वैदिक, जैन र बौद्धशास्त्रहरूले मनलाई सुख तथा दुखको कारण मानेको छ | सुख होस् वा दुख दूवै संचित, क्रियमाण, प्रारब्ध र आगामी यी चारकर्ममा आधारित हुन्छ | संचित कर्मको अर्थ हो भूतकालमा गरेका कर्मको फल अहिले प्राप्त हुनु, क्रियमाण कर्मको अर्थ हो अहिले हामीले गरिरहेका कर्मको भविष्यको परिणाम, र प्रारब्ध कर्मको अर्थ ग्रहदशा वा अन्य कुनै कारणले मनुष्यले भोग्नु परिहरेको पीडा र भविष्यको कर्म हाम्रो हातमा हुँदैन तर मनुष्यले भविष्यको “कर्म”को परिणामका लागि “डर” गरिरहेका हुन्छन् |
वर्तमानका मानसिक समस्याहरू संचित र प्रारब्धकर्मका कारण प्राप्त भएका हुन् | अहिलेको कर्मले हाम्रो भविष्यको “मानसिक-अवस्था” तयार हुँदैछ भने डर, विगत, वर्तमानलाई विचार नगरी जथाभावी कर्म गर्ने हो भने “भविष्य”को कर्ममा गरिने कर्म पनि दु:खप्रदायी नै हुन्छन् |
यसरी वैदिक मनोविज्ञानले सम्पूर्ण दु:ख होस् वा सुख यिनै चारप्रकारका कर्मले प्राप्त हुन्छन् भनेको छ | हरेक व्यक्तिके आप्त मानसिक समस्याबाट मुक्ति प्राप्त गर्न र समस्या नै हुन नदिन (पूर्वकार्यका रूपमा) यम (अहिंसा, सत्य, ब्रह्मचर्य, अस्तेय र अपरिग्रह)लाई जीवनशैली बनाउनुपर्छ | तेसपछि आगत समस्याहरूको समाधानका लागि नियम : शौच अर्थात् शारीरिक तथा मानसिक पवित्रता (स्वच्छता) सन्तोष, तप, स्वाध्याय र ईश्वरप्राणिधानको नियमलाई दृढतापूर्वक अवलम्बन गर्नुपर्छ | यो छुट्टै कुरा हो कि आजका मान्छेहरू स्वास्थ्य जीवन चाहन्छन् तर यम-नियम पालन गर्न चाहन्नन् |
तेसपछि शारीरिक स्वास्थ्यका लागि नियमित आसनहरूको अभ्यास गर्नुपर्छ, श्वासप्रश्वासको अभ्यास गर्दै एकाग्रताको अभ्यास गर्नुपर्छ | आधुनिक मनोविज्ञानले उपरोक्त सबै क्रियाकलापलाई अक्षरस: स्वीकार गरेको छ | हामीले जानेकै कुरा हो मनोविज्ञानले सम्वन्धित व्यक्तिको वर्तमानको मानसिक, संग्यानात्मक र व्यबहारको विश्लेषण गरेर मानसिक स्वास्थ्य र अस्वस्थ्यको परिणाम दिने हो | यदि वर्तमानमा मानसिक समस्या भेटिन्छ भने त्यो विगतका कर्महरूको परिणाम हो | मनोविज्ञानले वर्तमानमा ती समस्याहरूको पहिचान गरेर भविष्यका लागि रोक्ने प्रयत्न गर्छ |
सत्व, रज तथा तम यी प्रकृतिका तीनवटा गुण हुन् | मन, बुद्धि र अहङ्कार यिनै गुणहरूको फरकफरक अभिव्यक्ति हुन् | सतोगुण प्रधान कर्म गर्ने मान्छेको मानसिक स्वास्थ्य “अच्छा” हुन्छ | रजोगुण प्रधान कर्म गर्ने व्यक्तिको मानसिक स्वास्थ्य “ठीकै” हुन्छ र तामसिक कर्म गर्ने व्यक्तिको मानसिक स्वास्थ्य खराव हुन्छ | सतोगुणीले सूचना प्राप्त गरेको आधारमा यम. नियमआदिको पालन गर्छन् र स्वास्थ्य रहन्छन् | रजोगुणी व्यक्तिलाई सिकाउँदा अङ्गीकार गर्छन् र स्वास्थ्य रहने प्रयत्न गर्छन् तर तमोगुणी व्यक्तिहरूको मानसिक स्वास्थ्य ठीक गर्न दूवैले कठोर परिश्रम गर्नुपर्ने हुन्छ |
श्रीमद्भगवत-गीताका अनुसार तमोगुणी कर्म गर्न पल्किएका व्यक्तिहरू रिसाहा, फटाहा, धेरै सुत्ने, असजिलो र नगर्न भनेको काम गर्ने, सधैं यम-नियमहरूको उलंघन गर्दा रमाइलो मान्ने खालका हुन्छन् | उनीहरूलाई “असलकर्म” अन्धविश्वास लाग्छन् | उनीहरूले दु:खलाई नै सुख ठानेर दुख भोगिरहेका हुन्छन् | सत्य, पवित्रता, आसन, प्राणायाम तथा मानसिक एकाग्रतातिर उनको कुनै अभिरुचि नै हुँदैन | तेसैले गहिरो मानसिक-समस्या भएका व्यक्तिहरू असलमा तमोगुणी हुन्छन् | यिनीहरूले मानसिक स्वास्थ्यबाट मुक्ति प्राप्त गर्न धेरैसमय लाग्छ | सतोगुणीले १० दिनमा, रजोगुणीले २५ दिनमा त तमोगुणी व्यक्तिले आफ्नो मानसिक समस्याबाट उन्मुक्ति प्राप्त गर्न ७५ दिन लाग्छ – उदाहरणबाट बुझ्नुपर्छ |
यम, नियम, आसन, प्राणायाम तथा एकाग्रताको अभ्यास गर्न पनि नचाहने, खानपीन तथा आवश्यक निन्द्राको व्यबस्थापन गर्न नसक्ने मान्छे मानसिक समस्याहरूबाट मुक्त हुनैसक्दैन भन्ने महात्मा चाणक्यको भनाई छ | वैदिक चिन्तनप्रणालीमा मन, बुद्धि र अहङ्कार फरक-फरक “इन्टीटि” हुन् र फरकफरक तवरके ह्यान्डल गर्नुपर्छ तर पाश्चात्य मनोविज्ञानले यी तिनैबाट विषयहरूलाई एकैठाउँमा राखेर सजिलो बनाइदिएको छ |
ऋग्वेदका अनुसार मन “भावना”हरूको आधारशीला हो भने योगदर्शनकाअनुसार मन सुखदुखको अनुभोक्ता हो भने सांख्यदर्शनले मनलाई प्रकृतिको अभिव्यक्ति मानेर “नितान्त भौतिक वस्तु”का रूपमा बुझेको छ | यसर्थ, मन नितान्त भौतिक-विषय भएको हुँदा यसमा प्रतिविम्वित भएका समस्याहरूको सर्वथा समाधान गर्न सकिन्छ | यहाँ बुझ्नु पर्ने के हो भने “मन” भौतिक विषय भए पनि “वस्तु”चाहिं होइन | यो चेतनाको अजस्र प्रवाह हो र आफ्ना लागि विषयवस्तुहरू ज्ञानेद्रीयहरूका माध्यमबाट ग्रहण गर्छ |
“मन चङ्गा तो कठौती मे गङ्गा” भनेको हुँदा मानसिक मानसिक समस्या लाग्ननै नदिन यम, नियमआदिको पालन गर्नुपर्छ भने संचित, भाग्य र क्रियमाण कर्मका कारण मानसिक समस्या देखा परेका छन् भने योग्यगुरुका सान्निध्यमा रहेर “यमादि” नियमहरूको पालन गर्दा मानसिक रोगहरूबाट निको भइन्छ | शारीरिक, मानसिक, ज्ञानात्मक र आध्यात्मिक रूपमा पूर्ण स्वास्थ्य रहन आहार, निन्द्रा र विहार (यौन) अर्थात् आफुले सक्ने काममात्र गर्नुपर्छ |
अनुशासन नै स्वास्थ्य जीवनको मूलमन्त्र हो |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *