नेपाली मनको कुरा
नेपालमा मनोविज्ञानिकहरूले आफ्ना अनुसन्धानमा संस्कृतका शब्दकोशमा कोशकारहरूले समावेश गरेका मनका नामहरू, तिनको उत्पत्ति, अर्थ र प्रयोजनहरू अनुसन्धानमा समावेश गर्नुभएको छ त ? अनुसन्धान-निर्देशकहरूले आफ्नो संस्कृति र बांग्मयमा भएका सम्वन्धित विषयहरूको ज्ञानलाई अनुसन्धानमा समावेश गर्दा यो विषयवस्तुसंग परिचित नभएका विद्वानहरूलाई समेत जानकारी प्राप्त हुन्छ अर्थात् सुनमा सुगन्ध नै हुन्छ | मैले आजसम्म कुनै पनि नेपाली मनोबैज्ञानिकहरूका लेखोटमा मनको रैथाने स्वरुको उठान गरेको भेटेको छैन |
विलियम वुंटले आरम्भ गरेको पश्चिमा मनोविज्ञानको विकासमा तेहाका मनोबैज्ञानिकहरूले सुकरात, प्लेटो अरस्तु र आधुनिक दार्शनिक देकार्तले मनका विषयमा प्रस्तुत गरेका विचारहरू र मनको स्वरूप-स्वभाव वारे सम्मानपूर्वक चर्चा गरेका छन् | उनीहरूले आफ्नो इतिहासमा भएका मन-सम्वन्धि विचारहरू पस्कन्छन् | सायद, यो विषयमा हामी निकै कन्जुसी गरिरहेका छौँ |
विकासका अनेकौं विधाहरू मध्ये मनको पनि विकास नै हुन्छ | मनको विकासमा स्थानीय धर्म, संस्कृति, वातावारण, आर्थिक अवस्था, सामाजिक तथा राजनैतिक परिवेशको प्रभाव पर्छ | अमेरिकी, रसियन, वेलायतीआदि मनहरूको आफ्नै उत्थानको प्रणाली छ | नेपाली मनलाई “अमेरिकी पुस्तक”मा खोजेर नेपाली मनको सहीसही स्वरूप जान्न सकिन्छ भन्ने कुरामा मेरो शंका छ | उनीहरूले विकसित गरेको अनुसन्धानको पद्धति स्वीकार्य होला तर “विदेशी बुद्धि र मनले” नेपाली मन बुझ्न खोज्दा अपुग हुने सम्भवना रहन्छ |
पश्चिमका दुईजना प्रसिद्ध मनोबैज्ञानिकहरू विलियम जेम्स र कार्ल रोजर दुवैलमा पहिलोले व्यबहारवादी मनोविज्ञान र दोस्रोले परामर्श-मनोविज्ञानका धाराहरूको आरम्भ गरेका हुन् | विलियम जेम्सले आफ्नो चिन्तनको स्रोत प्लेटो र अरस्तुलाई बनाएको भनेर हाकाहाकी लेखेका छन् भने कार्ल रोजरले बाइबलका आधारमा आफ्ना सिद्धान्तहरू निर्माण गरेको कुरा “परामर्श-मनोविज्ञान”मा पढाइन्छ | जिन पियाजेले पनि आफ्नो “नैतिक मनोविज्ञान”मा सुकरातलाई उल्लेख गरेका छन् | पाश्चात्य मनोविज्ञानिकहरूले आफ्नो इतिहास विर्सेका छैनन् उ उनीहरुले तिनको स्रोत नै उल्लेख गर्न असजिलो मानेका छन् | आखिर, मन पनि त विकासकै निरन्तरता हो |
नेपालमा भने मौलिक चिन्तनको स्रोत मात्र होइन भएका शब्दहरूको प्रयोग गर्न पनि बडो कन्जुसी हुन्छ | यस मामिलामा मनोबैज्ञानिकहरूलाई मात्र दोष दिन मिल्दैन | सबैतिर “विदेशीस्रोत”को रजगज छ | अनुसन्धानका क्रममा कुनै शोधार्थीले आफ्नो “मौलिक स्रोत” चिहाउने प्रयत्न गर्यो भने निर्देशकहरूको कोपभाजन बन्ने कुरा मैले धेरै ठाउँमा सुनेको छु | मनोविज्ञानका प्रा.डा. अयनवहादुर श्रेष्ठले “मनोविज्ञानका केही कुरा” नामक पुस्तकको आरम्भमा श्रीमद्भगवद्-गीताको मनवारे उल्लेख गर्ने राम्रो प्रयन्त गरेका छन् तर तेसपछिका लेखकहरूमा “आफ्ना मौलिक ग्रन्थहरूमा पनि मनोबैज्ञानिक कुराहरू हुनसक्छन्” भन्ने तत्थ्यलाई समेत अनुभूत गरिएको छैन | पश्चिमाहरूले लेखेका कितावहरू आफ्नो भाषामा लेख्ने प्रचलन बढी छ |
भारतका धर्म बहुक अमेरिकाको हवाई-विविमा प्राध्यापक बन्न सफल भए किनभने उनले पश्चिमा मनोविज्ञानलाई “श्रीमद्भगवद्-गीताको मनोविज्ञान”का रूपमा बुझाउन सफल भए र उनले प्रतिपादन गरेका सिद्धान्त पश्चिमाशैली को मनोविज्ञानमा नयाँ र मौलिक ठानेर स्वीकार्य भयो | भारतीय मनोवैज्ञानिक सी. आनन्द प्रन्जपेले पतंजलिको योगसूत्रलाई आधार मानेर अनुसन्धान गरे, जसले उनी विश्वविख्यात बन्न सफल भएका छन् | तेस्तै अर्का भारतीय मनोबैज्ञानिक के रामकृष्ण राव “परम्परागत भारतीय मनोविज्ञान” लेखे | हालका दिनहरूमा भारतीयहरूले “मौलिक स्रोत”मा आधारित अनुसन्धानहरूलाई निकै अगाडी बढाएका छन् | प्राडा एपी मिश्रले पनि “भारतीय मनोविज्ञानको आधार” भन्ने पुस्तकमा मौलिक-मनोविज्ञान वारे राम्रो प्रकाश पारेका छन् |
मैले अध्ययन गरेका उपरोक्त पुस्तकहरूले योगसूत्रमा आधारित रहेर मनको मौलिक पहिचान गर्ने प्रयत्न त गरेका छन् तर नेपालका विद्वान अमरसिंहले सुझाएका मनका ७ बटा नाम र तिनले व्यक्त गर्ने अर्थ, प्रयोजन र उपयोगिता वारे ती सबै मौन छन् | नेपाली अध्येताहरूका लागि निकै महत्वपूर्ण हुन्छ यदि अमरसिंहका आधारमा कुनै मौलिक मनोवैज्ञानिक अनुसन्धान गर्न सके र गराउँन सके !! अनुसन्धानको लागि सहजिकरण गर्न विश्वप्रसिद्ध दार्शनिक तथा मनोविज्ञ प्राडा यदुनाथ सिन्हाको “भारतीय मनोविज्ञानमा प्रत्यक्ष” नामक किताव निकै सहायक हुनेछ |
अमेरिकी, युरोपेली, अफ्रिकी, भारतीय र नेपाली मनहरू एकै प्रकारका हुन्नन् | हामीले आफ्नो मनको ठीकठीक पहिचान आफ्नै इतिहास, आफ्नै समाज र आफ्नै मनभित्र पसेर निकाल्नु पर्छ | मनका मामिलामा “विदेशी”को भर पर्नु उचित हुन्छ कि हुँदैन ? विचार गर्नुपर्छ |
१९९० सम्म मानिसक स्वास्थ्यको परिभाषा भित्र आध्यात्मिक स्वास्थ्य समावेश गरिएको थिएन | जव योगसहित वैदिक तथा बौद्ध-साधनाहरूको प्रचारप्रसार हुँदै गयो अनि, पाश्चात्यहरूले मानसिक स्वास्थ्यअन्तर्गत “आध्यात्मिक स्वास्थ्य”लाई समावेश गरे | विश्वास गर्नुस् वा नगर्नुस्, स्वीकार गर्नुस् वा नगर्नुस्, मनोविज्ञानभित्र “आध्यात्मिक स्वास्थ्य” समेटिनुमा योगदर्शनको सबैभन्दा बढी प्रभाव छ | पोजिटिभ साइकोलोजि होस् वा परामर्श मनोविज्ञान यी दूवैबाट “योग” हटाई दिने हो भने उपरोक्त विधाहरूको अस्तित्व नै प्रभावित हुन्छ | तेसैले नेपाली मनोविज्ञसहित अन्य विधामा मौलिक अनुसन्धानमा केन्द्रीत हुनु आजको आवश्यकता हो | विदेशीहरू आउँछन्, अनुसन्धान गर्छन् र आफ्नो तरिकाले ब्रान्दिग गर्छन् | पछि, “यो हाम्रै हो” भनेर आत्मरति गर्छौं | यहीं हाम्रो समस्या छ |
अहिले नेपाली र भारतीयहरूका मनहरू “विग्रेको” परिस्थिति छ | कोरोनाले सबैको मन तर्साएको छ | एस्तो अवस्थामा मनोविज्ञानका ज्ञाताहरूले स्वदेशी मनको ठीकठीक पहिचान गरेर “मानसिक-सहयोग” गर्न सके थेरै नै उपयोगी हुन्थ्यो | विदेशीहरूको आँखाले “नेपाली मन” बुझ्न सजिलो पक्कै हुँदैन | उनीहरूले निर्माण गरेका सिद्धान्तहरूको व्याबहारिक प्रभावकारिता त मनलाई आफ्नो मन आफ्नै बुद्धिले बुझ्दा हुन्छ !!
अनुसन्धाता र जिज्ञासुको सुविस्ताका लागि अमरकोशमा (काठमाडौंका रैथाने नेवार वाणा अमरसिंह पहिलो संस्कृतको कोश लेखेका थिए) तेस कोशमा मनका निम्न पर्यायवाची शब्दहरू समावेश छन् | मैले ती शब्दहरूको अर्थ समेत समावेश गरेको छु |
अमरकोशमा मन : लिंग शरीरको शक्ति विशेष चित्त : पांचबटा मनसिक वृत्तिहरूको निवास स्थल चेत : बुझ्ने शक्ति हृदय : सुखदुखको अनुभूति गर्ने स्थल स्वान्त : भित्रको विषय हृत : अनुभूति मानस : कुराहरूको सङ्ग्रह शब्द रत्नावलीमा थप न्यांगक : शरीर नभएको शरीर न्यंग : शरीररहित चेतना भनेर नामित गरिएको छ | शब्दकल्पद्रुम नामको विशालकाय संस्कृत सन्दर्भ ग्रन्थमा मनका कार्यहरूको व्याख्या गर्दै धैर्य, उहापोह कौशल, स्मरण, विसर्ग, कल्पना, क्षमा, वैराग्य तथा अस्थिरता यी गुणहरूको आधान भनिएको छ | यसको अर्थ, सन्दर्भ र प्रयोग खोज्ने काम त् मनोबैज्ञानिकहरूले नै गर्नुपर्छ |

