धर्मो रक्षति रक्षित: धर्मको सुरक्षा गर्ने आफै सुरक्षित हुन्छ |
धर्मको रक्षाले मानव समाजको रक्षा हुन्छ | यहाँ यदि धर्म शब्दको अर्थ रिलिजन भन्ने बुझियो भने अनर्थ हुन्छ | धेरैजसो रिलिजनहरूको इतिहास रक्षाको लागि होइन आफ्नो प्रचारप्रसारका लागि करोडौं मानवहरुको, सांस्कृतिक धरोहरहरूको र संस्कृतिहरूको विनाशका लागि जिम्मेदार छन् | आज धार्मिकताको अर्थ असहिष्णुता, कट्टरता, जिहादीपन र अर्काको सांस्कृतिक आस्थाहरूलाई शत्रुतापूर्ण व्यबहार गर्ने समुदायका रूपमा परिचित छ | मुस्लिम आतंकवाद, इसाई-आतंकवाद, बौद्ध आतंकवाद (म्यानमार) र हिन्दू आतंकवाद (भारत) शब्दहरूले यही असहिष्णुताको सन्दर्भ व्यक्त गर्छन् |
वैदिक ऋषिमुनिहरूले धर्मशब्दको अर्थ र प्रयोजन सद्गुण, सदआचरण तथा असलगुणका रूपमा बुझ्ने र तेसैअनुसार कर्म गर्न अभिप्रेरित गरेका हुन् | जसरी वेदको अर्थ ज्ञान हो तेसैगरी धर्म शब्दको अर्थ सदाचार हो | सदाचारी व्यक्ति नै धार्मिक हुन् | धार्मिक ती हुन् जसले विश्वलाई आफ्नै कुटुम्ब ठानेर व्यबहार गर्छ | मन्दिर भत्काउनेहरू, धर्मपरिवर्तन गराउनेहरू, हिंसा गर्नेहरू, अर्काको जीवन नाश गर्नेहरू कसरी धार्मिक हुनसक्छन् ? किनभने यी सबै अधर्म हुन् | गुटका विश्वास हुन् जसले आफु वाहेक अरुको अस्तित्वलाई स्वीकार गर्दैन |
यहाँ धर्म रक्षाको अर्थ हो सदाचार, सद्गुण, दैविसम्पदाको रक्षा | यदि हामीले दया गर्छौं भने हामीलाई अर्कोले दया गर्छ अर्थात् धर्मले धर्मको रक्षा हुन्छ | यदि कसैले क्षमा दिन्छ भने उसले पनि उत्तरमा दया नै प्राप्त गर्छ | यदि कसैले दान दिन्छ भने वदलामा उसले पनि दाननै प्राप्त गर्छ | यदि कसैले कसैको जीवन रक्षा गर्छ भने उसले पनि जीवनदान प्राप्त गर्छ | यदि कसैले विनम्रतापूर्ण व्यबहार गर्छ भने उसले पनि विनम्रता नै प्राप्त गर्छ | शत्रुता गर्नेले शत्रुता, घृणा गर्नेले घृणा, ठगी गर्नेले ठगी, धोका दिनेले धोका र विश्वासघात गर्नेले विश्वासघात नै गर्छ | अधर्मले अधर्मको वृद्धि हुन्छ, धर्म (सद्गुण)ले धार्मिकताको वृद्धि हुन्छ | धार्मिकताको वृद्धि भनेकै संसार अझै सुरक्षित र मायालु हुनु हो |
जीवन वनको सुरक्षा जीवको सबैभन्दा ठूलो र महत्वपूर्ण कार्य हो | हरेक प्राणिलाई जीवनको माया हुनुपर्छ – यस विषयमा मान्छे फरक छैन | हामीले धेरै ठाउँमा देखेका छौँ पशुहरूले पनि मायाको उत्तर मायामै दिन्छन्, मान्छेको त कुरा नै छोडौं | तेसैले हरेक व्यक्तिले असलगुणहरूको बडो तत्परताका साथ पालन गर्नुपर्छ र ती गुणहरू पुस्तान्तरण पनि गर्नुपर्छ | सद्गुणहरूको पुस्तान्तरण नै नैतिक शिक्षा हो | रेलिजियस शिक्षा भन्दा धार्मिक शिक्षा विश्वका लागि हितकर र बान्छित छ | तेसैके माताको सम्मान गर्न, पिताको आज्ञाकारी बन, अतिथिको सत्कार गर्म गुरूको सम्मान गर जस्ता आदेशहरूको पालन गर्नेले गुरुका रूपमा, पिताका रूपमा, माताका रूपमा,अतिथिका रूपमा, पतिका रूपमा, पत्नीका रूपमा पुन: प्रत्युत्तर प्राप्त गर्छ |
सद्गुणहरूको पालना नगर्नेले सद्गुणहरूको पुस्तान्तरण पनि गर्न सक्दैन | धर्मको विनाश हुन्छ | तेसैले यदि हामीले धर्म (सदाचार, सद्गुण दैवि-सम्पदाको) पालन गर्यौं भने तेसले हाम्रो रक्षा गर्छ अर्थात् छोराछोरीहरू आज्ञाकारी, सत्यवादी, दयालु, क्षमाशील, विद्वान, अहिंसक, इन्द्रीयका नियामक, दयालुजस्ता दैवीगुणहरूले सुसज्जित हुन्छन् | तेसैले हरेक व्यक्तिले धार्मिकताको सुरक्षा बडो मन लगाएर गर्नुपर्छ किनभने यसैबाट सदाचार छोराछोरीमा, छिमेकीमा हस्तान्तरण हुन्छ | हामीले धर्मको रक्षा गर्यौं भने धर्मले हाम्रो रक्षा गर्छ |
गीताको अन्तिम श्लोकमा “यतो धर्म: ततो जय: अर्थात् जहाँ धर्म हुन्छ तेहा विजय हुन्छ” भनेर धर्म रक्षाको निष्कर्ष प्रस्तुत गरिएको छ | यहाँ जय शब्दको अर्थ युद्धमा विजय होइन असलमा अधार्मिकतामा नियन्त्रण हो | जहाँ सद्गुणी, सदाचारी, सत्यतापूर्ण व्यबहार गर्ने समाज निवास गर्छ, तेहा सबै प्रकारका सम्पदाहरू प्राप्त हुन्छन् भन्ने वैदिक प्रतिज्ञा पूर्ण हुन्छ | वैदिक ऋषिमुनिहरूले समाजका लागि जुन धार्मिकताको उपदेश गर्नुभएको छ, ती अकाट्य, सार्वजनिक र सार्वकालिक छन् | वैदिकहरूले ऋषिमुनिबाट प्राप्त उपरोक्त परम्पराको “वैश्विकता” प्रचारप्रसार गर्न सकेमात्र विश्व सुरक्षित हुने छ | राजनीति, आधुनिक विज्ञान (हतियार, बमहरू निर्माण गरेर जीवनको अस्तित्वलाई असुरक्षित पार्ने) र रिलिजनहरूको असहिष्णुताले निम्त्याएका दु:खहरू, डरहरू सधैंका लागि अन्त्य हुनेछन् | हामीले आफ्नो “धर्म” चिने र तेसअनुसारको प्रतिमान स्थापित गरे हुन्छ |

