Climate Weather

हेटौडा एकेडमीमा एकघण्टा

हेटौडा एकेडमीमा एकघण्टा

वैदिक संस्कृतिमा विद्याको अर्थ संसारमा आफुसहित अरूको भरणपोषण गर्ने सामर्थ्य प्राप्त गर्नु र जीवनको अन्त्यपछि मोक्ष प्राप्ति हो | भौतिक विद्याले भौतिक उन्नति दिन्छ | आध्यात्मिक व आत्मिक उन्नतिका लागि मोक्ष वा निबृतिमार्गको ज्ञान हुनुपर्छ | वैदिक ज्ञान प्रबृत्ति र निवृत्ति मूलक दूबै छ | तर अन्तिम लक्ष भने निवृत्ति नै हो | हेटौंडा एकेडमीमा नामहरूले बालबालिकामा भौतिक जगतमा आफ्नो धर्म, संस्कृतिको सम्वहन र रक्षा गर्ने प्रेरित गर्छन् भने जीवनको अन्त्यमा त्यागमय जीवन विताएर मोक्षका लागि तयार गर्छन् |
ज्ञान आन्तरिक विषय हो भने शिक्षा बाहिरी | शिक्षा वाहिरबाट प्राप्त हुन्छ | देखेर, सुँघेर, सुनेर, छोएर र स्वादलिएर शिक्षा प्राप्त हुन्छ | विश्वको जुनसुकै ठाउँबाट, व्यक्तिबाट र घटनाबाट शिक्षा लिन सकिन्छ | शिक्षा असल र खराव दुवै हुन सक्छ | खराव शिक्षाले कमसल आचरणको निर्माण हुन्छ भने असल शिक्षाले उच्च तथा अनुसरणयोग्य आचरणको निर्माण हुन्छ | एउटा शिक्षालयको नाम, ती शिक्षालयको भित्तामा कोरिएका लेखोट, पढाउने शिक्षक/शिक्षिकाको जीवनशैली र शिक्षणशैली सबैमा आफ्नोपन भएमा बालबालिकाले स्वत: असल शिक्षाप्राप्त गर्छन् |
नेपाल वैदिक, जैन, बौद्ध, बोन, किरातीआदिको मौलिक थलो हो | नेपाल र नेपालीलाई चिनाउने यही विषयवस्तु हुन् | नेपाली विद्यालयको नाम लिवरपुल राखेर नेपालीपनको सुरक्षा हुँदैन | अन्जानमैं बालबालिकाको आस्था बेलायतको एउटा शहरसंग जोडिन्छ | एउटा विद्यार्थीले बेलायतका विषयमा जान्नुपर्छ तर त्योभन्दा बढी उसले आफ्नो देश, गाउँ-ठाउँ र सांस्कृतिक प्रतीकहरूका विषयमा बुझेको हुनुपर्छ |
नेपालका सरकारी विद्यलय वा गुरुकुल पाठशालाका विद्यार्थीहरूलाई देखेर नाक खुम्च्याउनेहरूले बुझ्नुपर्छ को असली नेपालीपनको सुरक्षा यिनै विद्यालयहरूले गरिरहेका छन् भने केही निजीस्तरबाट संचालित विद्यालयहरूले पनि आफ्नोपनको जगेर्नाका लागि प्रत्यक्ष काम गरिरहेका छन् | अंग्रेजी भाषा पढाउँदै गर्दा नाम, ठाउँ, इतिहास, संस्कृति र चालचलन विदेशीकै हुनुपर्छ भन्ने छैन | भाषा भाषा नै हुन्छ | त्यो भाषाले के कुरा व्यक्त गर्छ, त्यो महत्वपूर्ण हुन्छ | अंग्रेजीमा वेद पढ्न मिल्छ | वेदले आफ्नोपनको ज्ञान दिन्छ भने ओडिसी पढ्यो भने प्राचीन ग्रिकेली समाज बालबालिकाको मनमस्तिष्कमा बस्छ | एउटा देशको शिक्षानीतिले यो तत्थ्य बुझ्नुपर्छ र तेसैका आधारमा शैक्षिक सामाग्रीहरू तयार गरिनुपर्छ |
हाल नेपालमा अंग्रेजी माध्यमका विद्यालयहरूको विगविगी छ | नेपालका विभिन्न भागसहित काठमाडौँमा संचालित धेरै तथाकथित अंग्रेजी (आधुनिक) विद्यालयहरूको नाम बेलायती, अमेरिकी, वा अन्य कुनै विदेशी गाउँ, नेता वा लेखकहरूआदिको पिछ्लागु भएर क्याम्ब्रिज, अक्सफोर्ड, लिभरपुल, सेक्सपियर, वासिंगटनआदिका नाममा राखेका छन् |
विदेशी नाम हुँदैमा शिक्षा राम्रो हुन्छ भन्ने छैन | बरू बालबालिकाको कोमल मनमा विदेशी नामहरूको छाप पर्छ | कालान्तरमा उनीहरूलाई विदेशी नाम प्यारो लाग्न लाग्छ | उनीहरूका लागि विदेशी प्रतिमानहरू, व्यक्तिहरू, संस्कृति र संस्कारहरू प्यारो लाग्न थाल्छन् | विदेशी प्रतिमानहरूले उनीहरूको आस्थालाई समेत परिवर्तन गर्न सक्छ | शिक्षाविद्हरूले यो तत्थ्य राम्ररी बुझेकै हुन्छन् |
स्वदेशी इतिहास, संस्कृति तथा आदर्शको रक्षा गर्न जनताले चुनेको सरकारले एस्ता नेपाली इतिहास र संस्कृतिलाई चुनौती दिने नामहरू राख्न स्वीकृति दिन्छ | विद्यालयका संचालकहरूले आफ्नो विद्यालयलाई आधुनिक देखाउन र अभिभावकहरूसंग पैसा असुल्न यिनै नामहरू राख्ने गरेका छन् | नेपालको शिक्षाक्षेत्र नक्कलीहरूको विगविगी छ |
आफ्नो इतिहाससंग, आफ्नो पहिचानसंग र आफ्नो माटोसंग जोडिएका नामहरू राख्दा मानौं आधुनिकताको मातलागेका नेपालसरकारका अनुमति दाता र संचालकहरूलाई सर्पले टोक्छ | नेपाली र संस्कृतका नामहरू धेरैका लागि अन्धविश्वास लाग्छ | यो भन्दा नेपालीको लागि अर्को दूर्भाग्य केही हुनै सक्दैन | जुन देशका संचालक, विद्यालय र शिक्षकहरूले आफ्नै इतिहास र संस्कृति मेटाउन पहिचान नै फेर्न लागि परेका तिनको कल्याण त पशुपति नाथले पनि गर्न सक्छन् भन्ने मलाई लाग्दैन |
आज देशमा विदेशी धर्म, संस्कृति त भाषा हरू बोकेर हिड्ने र आधुनिक बन्ने प्रतियोगिता चलिरहेको छ | आफ्नो मातृभाषा बोल्नेहरू, आफ्नो इतिहास तथा संस्कृति जोगाउन प्रयत्न गर्नेहरु अवहेलित हुन्छन् | राजनैतिक शक्ति (विचारधारा) नै विदेशबाट आयात गरिएको अवस्थामा शिक्षामा स्वदेशीपन खोज्ने मजस्ता व्यक्तिहरूको के नै औचित्य हुनसक्छ ?
नेपालीको दूर्भाग्य नै भन्नुपर्छ – नेपालीले उद्योग गरेर धनार्जन गरेको नेपालसरकारसहित जनतालाई पनि मन पर्दैन | विदेशीहरूकलाई नेपाली ब्यांक, सरकार तथा महाजन सबैले विश्वास गर्छन् तर नेपालीले उद्योग गरेर उनीसरह नै धनार्जन गर्न सक्छ भन्ने विश्वास कत्तिपनि छैन | एस्तो मानसिक प्रताडना धेरै नेपाली उद्योगपतिहरूले भोग्नु परिरहेको हुनसक्छ |
तर केही व्यक्तिहरू छन्, जसले नेपाली माटो, नेपाली इतिहास तथा आफ्नो मौलिकतासंग बडो माया छ | उनीहरूए उद्योग त गर्छन् तर विदेशीको नक्कल गर्दैनन् | उनीहरूसंग नेपाली मन छ | आफ्नो धर्म-संस्कृतिको रक्षाको लागि उनीहरूको प्रतिबद्धता स्वयंसंग छ | उद्योगी सुमार्गी परिवार नेपाली धन र मन भएको परिवार हो |
हुन त सुमार्गी परिवारका वारेमा मान्छेले आ-आफ्ना धारणाहरू बनाएका छन् | ती सत्य हुन् वा असत्य तेसको निर्णय गर्नेकाम आम जनता वा पत्रकारको होइन अदालतको हो | मेरो सामान्य बुझाईले भन्छ – सुमार्गी खाट्टी नेपाली उद्योगपति हुन् | मारवाडीलाई मात्र “उद्योगी” मान्ने नेपाली राजनैतिक, सामाजिक, मनोबैज्ञानिक तथा बैंकिंग चेतनाबाट माथि उठ्न पर्छ | मैले व्यक्तिगतरुपमा रुपमा एत्ति बुझेको छु कि उनले नेपाल मै रहेर बडो स्वाभिमान पूर्वक विभिन्न उद्योगहरू संचालन गरिरहेका छन् | उनी औलामा गन्न सकिने सफल नेपाली उद्योगपति हुन् | उनी उद्योग गर्छन् तर आफ्नो धर्म संस्कृति छोडेका छैनन् | यही नै उनीहरूको विशेषता हो |
कहिलेकाहिं लाग्छ, नेपालीले नै एउटा नेपालीले प्रगति गरेको देख्न, सुन्न र बुझ्न चाहन्नन् | एस्तै माहौल तयार गरिएको छ | सुमार्गीले प्रगति गर्दा जल्ने तर एउटा विदेशीले प्रगति गर्दा “अव देशले प्रगति गर्ने भयो” भनेर रमाउनेहरूको ठूलो भीड नेपाली राजनीतिमा, नोकरसाहीमा र सर्वसाधारणमा समेत रहेको देखिन्छ | असलकामको प्रशंसा गर्न नसक्ने हाम्रो स्वभाव कहिले परिवर्तित होला ? असल वा गलतको फरक छुट्याउने काम ईश्वरको हो अथवा न्यायालयको | जसको काम हो उसैलाई गर्न दिनुपर्छ | हामीले न्यायधीश हुन आवश्यक छैन |
गतवर्ष हेटौंडा भ्रमणको बखतमा सुमार्गी परिवारले संचालन गरेको “हेटौडा एकेडमी” भ्रमण गर्ने मौका पाइयो | मैले भन्नैपर्छ, यो एकेडमीले आधुनिक भएर पनि प्राचीन वैदिक नेपालको प्रतिनिधित्व गर्छ | एसले शरीर नेपाली भएका तर मन र मस्तिष्कमा विदेशपनमा समर्पित गरेकाहरूका लागि ठाडो चुनौती हो | अंग्रेजी नाम नराखी विद्यालय चल्न सक्दैन भन्ने मानसिकता लिएका र मातृभाषा बोल्दा आफ्नै विद्यार्थीलाई दण्डित गर्ने संचालकहरूका लागि यो चुनौती हो | सकारात्मकरूप लिंदा, सिक्न सक्ने ठाउँ पनि हो |
मेरो एकघन्टाको प्रवासमा मैले बुझेको – हेटौडा एकेडमी हेटौडाको पुरानो शैक्षिक संस्था रहेछ | अंग्रेजी माध्यममा पढाई हुने एस विद्यालयका भवनहरूको नाम देखेर मेरो मन निकै आनन्दित भयो | भवनहरूका नाम ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद छन् भने कक्षाकोठाहरू विभिन्न वैदिक तथा उपनिषदका ऋषिका नाममा छन् | नाम मात्र होइन श्रीअरूण सुमार्गी र विद्यालयका प्रधानाध्यापकका अनुसार निकट भविष्य मै संस्कृत-भाषा शिक्षण गर्ने योजना पनि रहेको छ |
विद्यालयका हरेक विद्यार्थीले गीता, वेदका ऋचाहरूसहित हिन्दूवैदिक संस्कृतिको विषयमा आधारभूत ज्ञान छ | उनीहरू निर्धक्कसंग संस्कृतका श्लोकहरू उच्चारण गर्छन् भने विद्यालयभित्र मातृभाषा नेपाली बोल्न कुनै प्रतिबन्ध छैन | उनीहरूको नेपाली र अंग्रेजी दूबैभाषामा समान अधिकार रहेको देखियो |
एकप्रकारले यो मेरो लागि आधुनिक गुरुकुलसरह नै लाग्यो | मेरो कल्पनाको आधुनिक गुरुकुल पनि नेपाली संस्कृत तथा अंग्रेजी यी त्रिभाषिक नै छ | नेपालको रैथाने इतिहास, संस्कृति तथा मौलिकता जोगाउन त्रिभाषिक (नेपाली,संस्कृत र अंग्रेजी)मा शिक्षाको ब्यबस्था हुनुपर्छ भने स्थानीय मातृभाषामा पनि शिक्षाको अनिवार्य ब्यबस्था हुनुपर्छ |
मेरो यो विचार पढेर धेरैले नाक खुम्च्याउने काम गर्लान् | मप्रति शंकाप्रतिशंका पनि गर्लान् | मेरो काम सुमार्गीको सम्पतिको वारेमा अनुमान लगाउने होइन | उनीहरूको सम्पत्तिको वारेमा उनीहरू जानुन् | मैले हेटौडा एकेडमीमा देखेको कुरा जस्ताको तस्तै लेख्ने हो | मैले यही गरेको छु | म भन्छु, नेपालका उद्योगपतिले सुमार्गीहरूलेझैं शिक्षामा मौलिकतालाई महत्व दिने नेपाली मौलिकताको रक्षाको लागि कसैले चिन्ता लिनुपर्ने थिएन |
धन्यहुन् ती नेपाली उद्योगपति जसले आफ्नो धनको केही अंश नेपालको प्राचीन इतिहास र संस्कृतिको रक्षाको लागि विद्यालय शिक्षामा लगानी गरेर सुरक्षाको थालनी गरेका छन् | नेपालमा संचालित विद्यालय, भवन र कक्षाकोठाका नाममात्र पनि रैथाने संस्कृतिका प्रतिकहरूसंग जोडिने हो भने धेरैथोक जोगिन्छ |
सिकाईका धेरै विधिहरू हुन्छन् | विद्यार्थीहरूको सबैभन्दा बढी सिकाई देखाईबाट बढी हुन्छ | विद्यालयको नाम, विद्यालयका भवनहरूको नाम, कक्षाकोठाहरूको नाम र शिक्षणविधि यी सबै शिक्षाका मध्याम हुन् | बाल्यकालदेखि भित्तामा लेखिएको आफ्नो पहिचान, इतिहासको जरो बूढो हुँदासम्म मान्छेले विर्सन सक्दैन | हेटौंडा एकेडेमीका भवन, कक्षाकोठाहरूको नामबाट बालकहरूको सिकाईमा पसेको स्वसंस्कृतिको सुगन्ध आजीवन रहिरहने छ | उनीहरूलाई भविष्यमा यी नाम र नामभित्र रहेको इतिहासलाई खोज्न, बुझ्न र जान्न प्रेरित गरिनै रहने छ |
यसरी हेटौडा एकेडमीले मौन रहेर पनि धेरै आफ्नो मौलिक संस्कृति सिकाउने काम गरेको छ | संचालक, प्रिन्सिपलको एस्तो सोचलाई धन्यवाद | मेरो एक घण्टा निकै उपोयोगी र सिकाई-बुझाइपूर्ण रह्यो | यो सोच हो | सोचलाई अरूले पनि पछ्याउने हो भने धेरैथोक परिवर्तन गर्न सकिन्छ | आफ्नो जरोकिलोको रक्षा गर्न र आफुलाई विश्वसम्म पुर्याउन एसले निकै मदत गर्छ | आ-आफ्नो क्षमताअनुसार काम गर्ने हो | अगाडी बढौं र सत्कार्यको जस पनि आफैले लिउँ |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *