हाम्रो नारीवाद !
मेरो लागि मेरी आमा र पत्नीनै नारी दिवसका सर्वोत्तम आदर्श हुन् | आमाका कारण म, मेरा भाईवहिनी अस्तित्वमा छौँ | हाम्रा बा हाम्री आमाका कारण नै “बा” बन्नुभएको हो | बाले आमाको सम्मान गर्नुभयो आमाका लागि “बा” भन्दा महत्वपूर्ण कुनै वस्तु वा व्यक्ति रहेन | बाआमाका मिलेर हामीलाई हुर्काउनु भयो | बा चांडै जानुभयो | आमा नै हाम्रो लागि “बा” हुनुभयो | उहाँले हामीहरूलाई टुहुरो बनाएर अर्को लोग्ने खोज्नु भएन | उहाँले “हाम्रो लागि” आफ्नो अधिकार प्रयोग गर्नु भएन | उहाँले आफ्नो अधिकार प्रयोग गरेको भए हामी टुहुरा हुन्थ्यौं | त्यागले कर्तव्य खोज्छ | अधिकारले स्वार्थ रोज्छ |
श्रीमतीले मलाई “पूर्ण नागरिक” बनाइन् | मलाई “परिवार”को अंग बन्ने अवसर प्रदान गरिन् | मेरो भौतिक, मानसिक तथा आध्यात्मिक अस्तित्वलाई प्रमाणित गरिन् | उनले निर्माण गर्न खोजेको परिवारमा मैले सघाएँ र हाम्रो परिवार बन्यो | उनको अधिकारले “विद्रोह” जानेन | मैले पनि कर्तव्यको सीमा नाघ्ने आँट गरिन किनभने मेरो लागि उनको अधिकारको मूल्य छ | उनी नहुँदा घर “भूतघर” हुन्छन् | छोराछोरी र छिमेकीका लागि म केवल “नून नभएको तिहुन” हुन्छु | उनी छन् र मभित्र “नून” छ | उनी छन् र हाम्रो घर छ |
नेपाली नारीवादीहरूले “डिभोर्स”लाई महिला आत्मनिर्भरताको “इन्डीकेसन” रूपमा परिभाषित गर्दैछन् | चरमअत्याचार सहेर संगै बस्नुको कुनै औचित्य छैन | तर लोग्नेस्वास्नीका विचमा स-सानो बेमेल (बैचारिक वा कार्यशैलीमा असहमति हुँदैमा) डिभोर्स दिने र त्यसलाई “महिला अधिकारका रुपमा महिमा मण्डित गर्नु अधिकारका हिसावले सही होला कर्तव्यका दृष्टिकोणले स्वागतयोग्य होइन | विश्व डिभोर्स डाटाका अनुसार पहिलो डिभोर्स माग्नेहरूमा ७७% महिला छन् | डिभोर्सले गर्दा ७८% बालबालिकाहरू आफ्ना मातापिताको मायाबाट बन्चित हुन्छन् र सबैभन्दा डरलाग्दो तत्थ्य डिभोर्सका कारण हेरचाह नपाएर ६% बालबालिकाले आत्महत्या गर्छन् | १७% बालबालिकाको पढाई विग्रन्छ | १९% बालबालिकाहरू सडकमा आउँछन् | ४७% बालबालिकाहरू दुर्व्यसनमा पर्छन् |
नारीवाद, पितृसत्तात्मकजस्ता शब्दको आडम्वर र अधिकारका नाममा भत्किंदा परिवार, टुहुरा हुँदा बालबालिका र बृद्ध आमाका लागि वृद्धाश्रम खोज्ने क्रान्तिकारी परिवर्तन हाम्रो परिवारको “भाग्य” नबनोस् | नारीवाद पुरुषहरू विरुद्ध घृणावादमा रुपान्तरित नहोस् | नारीवाद पुरुष लिंगका अत्याचार गर्ने “नारीसत्तात्मक सामाजिक संरचना”को बाटो नबनोस् | अधिकारप्रतिका लागि पुरुषहरू विरुद्ध उठाउने “मुड्कीवाद” व्यक्तिगत रूपमा प्राकृतिक महिला, तिनको परिवार र समाजका लागि नारीशक्तिको “मोडेल” नहोस् |
नारीहरूले अमेरिका, रुस, जर्मनी अन्तत: १९७७ (UN) ले घोषणा गर्वपछि मात्र “अधिकार” प्राप्त गरेका हुन् भन्ने मान्यता मेरी आमालाई मान्य छैन | पश्चिमाले आरम्भ नगरी के कुनै “अधिकार”को स्थापना हुनै सक्दैन त ? पश्चिमाहरूले अधिकारका लागि विद्रोह र घृणावादलाई मलजल गरे तर नारीअधिकारको निरन्तरता पौरस्त्य समाजमा पनि थियो र छ जसले अधिकार र कर्तव्य दूवैको समानतहमा पालन गर्छ | वैदिक समाजमा कुनै पनि धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्य गर्न पर्यो भने पुरुषले महिलालाई अनिवार्य रूपमा संगै राख्नुपर्छ र महिलाले पुरुषलाई | यो अधिकार र कर्तव्यको सन्तुलनलाई “अर्धांगिनी” भनिन्छ | मेरो बाले आमालाई र आमाले बालाई कहिल्यै पनि निर्णयमात्र होइन धार्मिक, सांस्कृतिक सहभागितामा एक्लै छोड्नु भएन | मिल्ने काम एक्लाएक्लै गरे, मिल्दै नमिल्ने काम सहमति र संगै गरे | उनीहरूकै सिको गरेर “हामीले पनि त्यही गरिरहेका छौँ |
“नारी अधिकार सम्पन्न हुनुपर्छ” यो सिद्धान्त पश्चिमाहरूले मात्र अगाडी बढाएका हुन् भन्ने “माइन्ड-सेट” सबैभन्दा पूर्वाग्रही छ | वैदिक संस्कृतिमा मात्र होइन फरकफरक तवरले विश्वका हरेक धर्म, संस्कृति तथा परम्परामा उपरोक्त सिद्धान्तमा आधारित व्यबहार प्राप्तिको लागि अनेकौं प्रयास भएका र सफल पनि भएका छन् | पितृसत्तात्मक समाज र पुरुषसंग विद्रोह गरेर मात्र नारीवादले पूर्णता प्राप्त गर्न सक्छ भन्ने माइन्ड-सेट अनुसार सक्रिय “अभियन्ता”हरूको आफ्नै घरपरिवार भताभुंग हुने सन् १९२३ को अस्ट्रेलियाको अनुसन्धानले इन्डिकेट गरेको छ | सम्पूर्ण अभियन्ताहरू आरोपित गर्नु हुँदैन तर पुरुष-लिंगप्रति पूर्वाग्रह राखेर नारीवादको अभियानमा लाग्नेहरू व्यक्तिगतरुपमा सबैभन्दा दु:खी “अभियन्ता” हुन् भन्ने तत्थ्यमा शङ्का छैन | हाम्री आमाको अभियान “परिवारवादी नारीवाद हो, जहाँ महिलाले पूर्णता प्राप्त गरूँन् | एउटी मायालु, सहयोगी, पारिवारिक अधिकारवादी अभियन्ता भन्दा सुखी संसारमा अर्को हुनै सक्दैन |
हरेक हरेक नारीहरू अधिकार र सम्मानले युक्त हुनैपर्छ | नारीलाई पूर्णसम्मानको प्रत्याभूति दिनु व्यक्ति र राज्य दूवैको कर्तव्य हो | सह्रिद्दयी नारीवादको तुलनामा घृणावादी नारीवाद बलियो हुनु राम्रो होइन | नारीअधिकारका लागि आफ्नो परिवार, समाज, धार्मिक, संस्कृतिक, राजनैतिक दायित्वहरूप्रति घृणा र तीप्रति अनुचित विद्रोह उचित होइन | यदि अधिकार प्राप्त गर्ने विद्रोहमा आफ्नो घर, परिवार, इष्टमित्र, आमावुवाहरूसंग विछोड हुन्छ र परिवार भताभुंग हुन्छ भने यस्तो नारीवादी विद्रोहका विषयमा पुनर्विचार गर्नुपर्छ | नारीवादले परिवार र सामाजलाई जोड्नुपर्छ तोड्नु हुँदैन | बडो खेद पूर्वक भन्नुपर्छ कि मिडियामा “नारीअधिकारवादी, स्वतन्त्र विचार भएका, विद्रोही नेतृत्वहरूको आफ्नै घर बिग्रेको देखिन्छ | आफ्नै विग्रेकाले अर्काको सुधार्लान् भन्ने आशा कम गरे हुन्छ | रामायणको एउटा सूत्र छ “नारी मुई भय सम्पति नाशी, मूड मुड़ाय भय सन्यासी !
विश्वमा महिला अधिकारवादका फरकफरक रूप छन् | नेपाल पनि नहुने कुरै भएन | पुरुषप्रति चरम घृणाव्यक्त गर्ने, परम्परागत धर्म, संस्कार तथा मान्यताहरूको धज्जी उडाउने, उद्दण्ड स्वतन्त्रताको पक्ष पोषण गर्ने र आफ्नै आमावुवा वा सासुससुरालाई नारीवादीको सबैभन्दा ठुला शत्रुका रूपमा व्यक्त गर्ने, परम्परागत विवाह तथा परिवादवाद प्रति सधैं विष बमन गर्दै “पितृसत्तात्मक” समाजका विरुद्ध सरल महिलाहरूमा घृणा गर्ने र परिवारसंग मिलेर बस्न नसकेर “एकल जीवन” अंगालेका नारीवादीहरू मिडियाका प्यारा हुन्छन् तर आफ्नो परिवारसंग प्राकृतिक रूपमा रमाउने र कर्तव्यका रूपमा सहृदयी जीवनमा रम्ने हाम्री आमाहरू मिडियाका दृष्टिकोणमा नारीवादी हुनै सक्दैनन् | मातृशक्तिको लागि अधिकारप्रति भन्दा पनि पुरुष र परम्परागत समाजको कठोर आलोचकहरूको नारीवाद मिडियामा बिक्छ | सत्य पचाउन गाह्रो हुन्छ तर घृणावादलाई आधार बनाएर नारीवादको वकालत गर्नेअरूको व्यक्तिगत जीवन संवेदनहीन, एकलकाटे र फिल्मको पर्दामा देखिने रोमान्सका सीनहरूझैं हुन्छ – अनुसन्धानले यस्तै भन्छ |
विश्वका सम्पूर्ण नारी शक्तिहरूलाई मनन | पुरुष होस् वा नारी कसैका कारण पनि “परिवार विखण्डित” नहोस् | अधिकार र कर्तव्यका विचमा “घृणावाद”को प्रवेश नहोस् | विद्रोही होइन सहृदयी नारीवाद अगाडी बढोस् | कुनै पनि महिला “महिला” भएकै नाताले कुनै पनि प्रकारको विभेदबाट पिडित हुनु नपरोस् भने नारीवाद पनि घृणावादमा रुपान्तरित भएर पुरुषहरू हिंसामा पर्न नपरोस् |
नमस्ते मातृशक्ति, नारी शक्ति |
थप :
(१) महिला विश्व दिवसको अवसरमा सम्पूर्ण मातृशक्तिलाई सादर नमन | केही महिलाहरूका लागि “मातृशक्ति” शब्दको प्रयोग नै अपाच्य, अवान्छनीय र पितृसत्तात्मक भन्ने लाग्न सक्छ | मातृशक्ति शब्दसंग असहमत हुने “माइन्ड-सेट” पुरुषसंग बिद्रोह गरेरमात्र “नारी अधिकार” प्राप्त हुन्छ भन्ने घृणावादी चिन्तनको पराकाष्ट हो | अधिकारप्राप्तिको यो सोच र परिभाषाले कर्तव्यलाई महत्व दिंदैन न पतिपत्नी विचको “भावनात्मक” सम्बन्धको सुरक्षा गर्छ |
(२) महिला अधिकारको लागि संघर्ष गर्दै आएको आन्दोलनलाई संस्थागत गर्ने क्रममा १९०८ मा अमेरिकाको न्यूयोर्क शहरमा महिलाहरूले कामको उचित वातावरण, समान पारिश्रमिक, र मतदान अधिकारका लागि प्रदर्शन गरे। त्यसैको प्रभावस्वरूप १९१० मा कोपेनहेगनमा सम्पन्न समाजवादी महिला सम्मेलनमा क्लारा जेट्किन नामक जर्मन समाजवादी नेतृले अन्तर्राष्ट्रिय महिला दिवस मनाउने प्रस्ताव राखिन्। त्यसपछि पहिलोपटक १९११ मा अष्ट्रिया, डेनमार्क, जर्मनी, र स्विट्जरल्यान्डमा महिला दिवस मनाइएको थियो। सन् १९७७ मा संयुक्त राष्ट्रसंघले औपचारिक रूपमा मार्च ८ लाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मान्यता दियो ।
अर्को इतिहास पनि छ : सन् १९२२ मा तत्कालीन सोभियतसंघका साम्यवादी नेता ब्लादिमिर लेनिनले ८ मार्चलाई विश्वभरीका महिलाको सम्मानमा “महिला-दिवस”को घोषणा गरेका थिए | सन् १९१७ मा रुसका महिलाहरूले फेब्रुअरी २३ (जर्जियन पात्रोअनुसार मार्च ८) का दिन शान्तिका लागि प्रदर्शन गरे, जसले अन्ततः सोभियत संघमा महिलाहरूलाई मतदान अधिकार प्राप्त गर्न सहयोग पुर्यायो। महिला दिवसको अचम्मको पक्ष के हो भने अमेरिकी र युरोपेलीका लागि यसको इतिहास फरक छ भने वामपन्थी र समाजवादीका लागि फरक छ |
(३) अन्तर्राष्ट्रिय स्तरमा नारीहरूको सम्मानमा नारी-दिवस बडो सम्मानजनक कुरा हो | तर पुरुष-महिलाको एकआपसी सहकार्यबाट निर्मित मानव-सृष्टिका दृष्टिकोणले “विद्रोही महिलावाद” आलोचना रहित हुनै सक्दैन | परम्परागत संस्कृति र परम्पराले नारीहरूप्रति भेदभाव गरेको छ तर यस्तो भेदभावको अन्त्य पुरुषसंग विद्रोह गरेर, सङ्घर्ष गरेर, अपमान गरेर, अस्वीकार गरेर तथा असहयोग गरेर हुन्छ भन्ने :माइन्ड-सेट”ले महिला र पुरुष बनेर मिलेको सामाजिक समरसतामा बिघ्न उपस्थित गरेको छ | विश्व व्यबस्थाअली “पितृसत्तात्मक” भन्दै पुरुषहरूप्रति विद्रोह र प्रतिशोधले “पारिवारिक सम्वन्ध”लाई निकै दु:खदायी बनाउँछ |
(४) महिलावादका विविध आयाम र पक्षहरू छन् | ती मध्ये महिलावादको जटील पक्ष “पुरुषहरूलाई जितेर, नियन्त्रण गरेर, उनीहरूबाट अधिकार खोसेर” नारीले सफलता प्राप्त गर्छन्” भन्ने माइन्ड-सेट हो |

