वासना

वासना

म सधैं ४ बजे विहान उठ्ने गर्छु | विगत ४४ वर्ष देखि यो क्रमभंग भएको कम नै उदाहरण छन् | म उठ्ने तरखरमा थिएँ कि एउटा असाध्यै मधुरो गायन सुनियो | कर्मप्रिय आवाज कुनै पुरुषको थियो | प्रष्ट तर मधुरो अवाज भएकोले मभित्रको वासनाले त्यो मधुर गायनलाई अझैं प्रष्ट सुन्ने चाहना राख्यो | मैले आफ्नो कोठाका झ्याल खोलें | आवाजको फ्रिक्वेन्सीमा कुनै परिवर्तन भएन तर ध्वनिको मीठास भने अचम्मसंग बढ्यो | जतिधेरै त्यो ध्वनिको मधुरता बढ्दै थियो, त्यतिनै त्यस ध्वनिस्रोतमा पुग्ने मभित्रको इच्छा बढ्दै थियो | मैले आफुलाई रोक्न सकिन | उठेर ढोका खोलें | कोठाबाट वाहिर निस्कें | मधुर ध्वनि जस्ताको तस्तै कानमा बजिरहेको थियो | मैले त्यस्तो ध्वनि कहिल्यै पनि सुनेको थिइन | त्यसैले पनि होला – मेरो जिज्ञासा बढ्दै गयो |
मलाई लाग्यो, घरको छत (चोटा)बाट सम्भवत: ध्वनिको स्रोत ज्ञात हुने छ | म भर्याङ चढेर चोटाको ढोका खोलें | खुला छतमा निस्किएँ | ४:१८ मिनट भएको रहेछ | आकाश स्वच्छ भएकोले ताराहरूका समूहहरु पप्रष्ट देखिएका थिए | मन्दगतिमा हावा चलिरहेको थियो | म उत्तरतिरको छेउमा गएर पूर्वदिशातिर नजर लगाएँ | विहानको लालिमा देखिन अर्थात् सूर्योदय हुन अझैं समय थियो | मेरो कानले ध्वनि सुनिरहेको थियो | मैले चारैतिर हेरें | गहिरोसँग सास फेरेर मनमा गायत्री मन्त्र सम्झिएर मानिसक जप गर्न थालें | मैले अनुभव गरें गायत्री मन्त्र र मैले सुनिरहेको ध्वनिमा अचम्मको तारतम्य छ | जवजव मैले गायत्रीको मानसिक जप गर्ने उपक्रम गरें, त्यो मधुर ध्वनिसंग मानौं म बेहोस् भएँ | मेरो त्यो वेहोसी साधारण होइन, मेरो अनुभूतिको संसारमा त्यो अनन्त आनन्दको वर्षाझैं थियो |
म गायत्रीको मानसिक पुरावृत्ति गर्दैछु | त्यो ध्वनि पहिले भन्दा अलि तीब्र भयो | म ध्वनि आएको दिशातिर स्वचल रूपमा, मानौं उड्न थालें | मैले अनन्त आकाशको यात्रा गरिरहेको छु | म अनन्त अध्यारोमा पुग्दैछु | जतिधेरै म अनन्त आकाशभित्र पस्छु त्यतिनै अध्यारो गहिरो-गहिरो हुँदैछ | ध्वनिको मधुरताले मलाई चुम्बकझैं तानिरहेको छ | म अध्यारोबाटो अतिन थालें | अचानक, मैले वारम्वार साक्षात्कार गरेको, मलाई सधैं सहयोग गर्ने विद्युत्माला प्रकटभयो | मैले त्यो एकहजार किलोमिटर अग्लो र एकलाख किलोमिटर टाढाको प्रकाशपूँजसंग सम्बाद गर्थे | विद्युत्मालाले भयो “अध्यारोले ब्रह्माण्डहरूको निर्माण हुन्छ | तिम्रो आँखा प्रकाशका लागि निर्मित भएका हुन् | कृष्णतत्वलाई देख्न पनि कृष्णतत्वप्रधान आँखा चाहिन्छन् | तिमीलाई मैले सहयोग गर्छु किनभने मैले तिमीलाई सहयोग गर्नेपर्छ | कृष्णतत्व अनन्त छ, प्रकाशतत्व पनि अनन्त छ तर त्यो कृष्णतत्वमा विलिन हुन्छ |” मैले पटक्कै कुरा बुझिन | विद्युत्मालाले भन्यो “तिमीले अहिले कुरा बुझ्दैनौं किनभने तिम्रो बुझाईमा पार्थिवतत्वहरूको अधिकार छ |”
यदि मेरा आँखाले कृष्णतत्व देख्न सक्दैन भने निश्चय नै मेरो आँखामा त्यसलाई देख्न र बुझ्नसक्ने प्रविधिको अभाव छ | प्रविधिको अभावका कारण अवलोकन गर्न नसकिएका पदार्थहरूको अस्तित्व अस्वीकार गर्नु अनुचित हुन्छ | मैले धेरै कुरा देख्न, बुझ्न, जान्न सक्दिन – यो तत्थ्य भने सत्य हो – मैले सोचिरहेको थिएँ | विद्युत्मालाको आगमनले मेरा आँखाका अगाडी अनन्त ताराहरू प्रकाशित भए | तर म भने अनन्त आकाशको अन्धकारमा पौडिरहेको थिएँ र मैले बुझिरहेको थिएँ “अव म पार्थिव रहिन |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *