म नेपाली नागरिक 

म नेपाली नागरिक 

म नेपाली नागरिक 
सायद नेपाली राजनैतिक क्षितिजमा एत्ति परिचयले पुग्दैन | यो मात्र परिचय लिएर मालपोतमा गए निर्दयी कर्मचारीले अतिरिक्त आर्थिक सुविधा नलिए काम नै गर्दैनन् | सत्य सेवा सुरक्षणम् नारा लेखेको भित्तो मुनि बस्ने प्रहरी अधिकृतले गुनासो सुन्दैन | कर अधिकृतले कानुन नबुझेको कारणले भएको सामान्य गल्तिका लागि ठूलै आर्थिक दण्ड-जरिमाना लेखिदिन्छ | परीक्षा कार्यालयले विद्यार्थीको नाम सुधार्न नै महिनौं लगाउँछ |
यदि मेरो परिचय – समाजवादी, साम्यवादी वा पूंजीवादी वा पहुँचवालसंग जोडिएको छ भने म असामान्य मान्छे हुन्छु | कर्मचारीहरू आफ्नो कुर्सिबाट उठेर स्वागत गर्छन्, मालपोत कार्यालयका हाकिमले आफ्नै कुर्सीमा बसालेर आफ्ना मातहतका कर्मचारीलाई “सरको काम चाढै हुनुपर्छ” भन्ने निर्देशन हुन्छ र प्रहरी घरमा आएर रिपोर्ट लेख्छ | ड्राइभ-लाइसेन्स घर मै पुग्छ, कर-अधिकृतले आफै कानुनी लुपहोल पत्ता लगाएर क्लिन-चिट दिन्छन् |
म नेपाली नागरिक हुँ तर सामान्य नागरिक | एउटा गाउँ वा शहरको सामान्य नागरिक | जो- कुनै पार्टी वा बलियो पहुँचवाल आफन्तको छत्रछायाँमा पर्दिन | नागरिकको रूपमा मैले त्यही चाहेको छु, जुन नागरिकले राज्यको नागरिक भएको कारणले प्राप्त गर्नुपर्ने हो – शिक्षा, औषधिउपचार, बास, र रोजगारी | राज्यले करका रूपमा असुल्ने हरेक रकम मैले तिरेकै छु र उपरोक्त सुविधाहरूको राज्यबाट आशा गर्नु कुनै गलत हो जस्तो लाग्दैन |
मेरा पूर्खाहरूले २००७ सालदेखि उपरोक्त न्युनतम सुविधाको सृजना र प्राप्तिका लागि जो-जसले परिवर्तनका नारा दिए, सङ्घर्षला लागि मलाई उक्साए ती सबैलाई साथ दिएकै हो | तर २०७४/११ सम्म पनि हामी जस्ताको तस्तै छौं | आज पनि निर्लज्ज राजनैतिक नेतृत्वहरू “अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नु नै पर्छ” भन्दै उक्साईरहेका छन् | कहिले साम्यवादका नाममा, कहिले पुँजीवादका नाममा त कहिले समाजवादका नाममा ! म अलमलमा छु, मेरो पहिचान के हो – नेपाली नागरिक कि राजनैतिक नेतृत्वहरूको भरिया ?
म एउटा साधारण जनता | नेपालका राजनीतिज्ञ र राजनीतिको संरक्षण गर्ने प्राध्यापकज्युहरूले ठूला-ठूला अक्षरमा कार्लमाक्स, लेनिन, माओ, रुसो, हब्स, वासिंगटनहरूका भनाईहरू पस्कन्छन् | नेपाललाई कहिले सिंगापुर त कहिले स्विजरल्याण्ड जस्तो बनाउने कुरा गर्छ | मैले न सिंगापुर देखेको छु न स्विजरल्याण्ड, तेसैले म सोच्छु सम्भवत: आफ्नो दोस्रो कुलदेवता कार्लमाक्स वा अन्य विदेशी नामधारीहरूलाई स्विकार्दा हाम्रा आवश्यकता पूर्ण हुन्छन् भने भोट दिन्छु | दिंदै आएको छु र अहिलेको नेतृत्वलाई सोध्न चाहन्छु – के स्विजरल्याण्ड र सिङ्गापुर नेपालजस्तै छन् ? अथवा तपाईंहरूले नेपालमैं बसेर/रहेर स्विजरल्याण्डका सुख भोग गर्नुभएको छ ?
म जनता | मैले नेपाललाई सिङ्गापुर वा स्विजरल्याण्ड बनाउने कल्पना पनि गर्न सक्दिन | कुरा सीधा छ, मेरो ती देशमा जाने/आउने हैसियत नै छैन | मैले देखेको/भोगेको नेपाल सहवास, सहभोजन, सहकर्म तथा एकअर्काको आरिस नगर्ने हो भन्ने चाहन्छु | मजस्ता सामान्य नागरिकले सपनामा पनि दूई-चार करोडको गाडी चढेर हिड्ने, हाछ्यु आउँदा विदेशी अस्पतालमा गएर सोचेका हुँदैनौं | मेरो प्रश्न छ : २००७ देखि अहिलेसम्म राजनैतिक नेतृत्वले सधैं एतिविध्न प्रयत्न गर्दा पनि मेरो जीवन किन सुध्रिएन ? कहीं तपाईंहरूले अंगालेको राजनैतिक सिद्धान्त नै गलत त छैन ? के तपाईंहरूले मजस्ता जनतालाई दिल्लीको टिकट काटेर पोखरा यात्रा गर्न बाध्य त पार्नु भएको छैन ?
अहिले २०७२ को संविधान पढेर म जनता आत्तिएको छु | मैले सधैं आफ्ना अग्रज र छिमेकीहरूबाट आफ्नो धर्म, संस्कृति, रैथाने सीप तथा ज्ञानहरूको सम्मान गर्नुपर्छ, तिनको प्रवर्धन गर्नुपर्छ तथा तिनमा रहेका बैज्ञानिक विषयहरूको अनुसन्धान गरेर वैस्विक बनाउनुपर्छ भनेर सिकें र त्यही उपदेश बालबालिकालाई दिन्छु | तर निर्लज्जतापूर्वक आफ्नै रैथाने इतिहासलाई गालीगलौज गरेर आरम्भ भएको संविधान वारे सोध्दा मैले जवाफ दिन सकिन | हिन्दू, बौद्ध, जैन, बोन तथा किरातीजस्ता धर्मसंस्कृति जीवन्त रहेको नेपाल किन धर्म-निरपेक्ष भनियो, मैले आफ्ना बालबालिकालाई बुझाउन नसकेर रनभुल्ल परेको छु |
हिजो मेरा मित्र श्रीमित्र लालले भन्नुभयो – नेपालमा कम्म्युनिस्ट भोटर अधिक संख्यामा हुनुको अर्थ साम्यवादी सिद्धान्तमा आस्था हुनु वा “धर्म अफिम हो” भन्ने बाक्यमा सहमत भएर साम्यवादी बनेको भनेर भनेर बुझ्नु नितान्त गलत हुन्छ | नेपाली जनताले परिवर्तनलाई साथ दिएका हुन् कुनै “वाद” होइन |
कुरो ठीकै हो, हामी जनताहरू नेपालका साम्यवादी पार्टीहरूलाई भोट दिन्छौं किनभने यी पार्टीका नाराहरूले “अन्याय, भष्टाचार र गरिवी निवारणको विषयलाई प्राथमिकता दिन्छन्” | नेताहरूले जनताको सेन्टिमेन्ट नबुझेर आफ्नै धर्म, संस्कृति तथा इतिहासको जरोकिलो मास्ने किसिमका राजनैतिक निर्णय गर्छन् | हामी नेपाली जनता साम्यवादी, पूंजीवादी वा समाजवादको भारी वोकेर भरिया बनाउँछन् | हामी नेपाली जनता विदेशमा जरोकिलो भएको राजनैतिक चिन्तनका भरिया होइन, समतामूलक परिवर्तनका पक्षधर हौँ |
हामी जनताले जनताले हरेक पटक राजनैतिक परिवर्तनका आन्दोलनलाई साथ दियौं किनभने हामी अशिक्षा, गरिवी तथा भ्रस्टाचार मुक्त नेपाल चाहन्छौं | हामी सर्वसाधारण जनतालाई न साम्यवादको अर्थ थाहा छ न पुँजीवादको, न समाजवादको नै | हामी जनता परिवर्तनका पक्षमा छौँ किनभने जसमा हाम्रा छोराछोरीले समयोचित शिक्षा पाउन सकून्, रोग लागेको बेला अकालमा मर्न नपरोस् र आफ्नो परिवार, गाउँ तथा संस्कृति छोडेर १० गाँस भातका लागि विदेशिने अवस्थाको अन्त्य होस् |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *