ब्रतबन्ध
संस्कारपछि द्विजत्व प्राप्त हुन्छ | संस्कारात् द्विज उच्यते
उपनयनको अर्थ हो ब्रह्मसूत्र धारण संस्कार सिक्नु तथा वेदआदि पढ्न गरेर गुरुका निकट जानु | ब्रतबन्धको अर्थ हो – ब्रह्मसूत्र (जनै) धारण गरेर २५ वर्षसम्म ब्रह्मचर्य धारण गर्दै आफ्नो अभिरुचिको शिक्षा ग्रहण गर्ने मातापिता, आफन्तहरूलाई साक्षी राखेर सङ्कल्प गर्नु | सङ्कल्प अनुसारको कार्यमा बाँधिनु नै ब्रतबन्ध हो | नेपालीमा “बर्तुन” भनिन्छ, कसरी यो शब्द बन्यो विद्वानहरूले जानुन् |
ब्रतबन्ध गर्नु भन्दा पहिला पूर्वांग गरिन्छ | पूर्वांगमा गणेश, कलशआदिको पूजनसहित मुख्य रूपले चौसठ्ठी योगिनीहरूको आराधना गरिन्छ | यी मातृ’शक्ति हुन् | यी ६४ मातृशक्तिको आराधना गरेपछि तोकिएको ब्रतबन्ध “मोरो” परे पनि रोकिन्न | तेसैले पूर्वांगले ब्रतबन्ध सुनिश्चित गर्छ |
ब्रतबन्ध संस्कारभित्र कर्मकाण्डका धेरै रोचक क्रियाकलाप हुन्छन् | सबै अनिवार्य र महत्वपूर्ण हुन्छन् तर ब्रह्मसूत्र धारण, गायत्री मन्त्र ग्रहण र वेदारम्भ यसभित्रका मुख्य पक्ष हुन् | ब्रतबन्ध नगरी कुनै पनि बालक वेदको अध्ययन गर्ने अधिकारी हुँदैन र गायत्री जप्ने अधिकारी पनि हुँदैन | शास्त्रको नियम यही हो | नमान्नेका लागि केही भन्नु छैन |
युट्यूबमा सुनेर वा पढेर गायत्री मन्त्र कन्ठस्थ पार्न सकिन्छ तर गायत्रीमन्त्रको आध्यात्मिक ब्रह्मतेज प्राप्त गर्न गुरूबाट मन्त्र ग्रहण गर्नुपर्छ | अधिकार र गुरुमुखबाट ग्रहण नगरेको गायत्री बालबालिकाले युट्यूव हेरेर हवाईजहाज चलाउन सक्छु भनेजस्तै हो | बुझिन्छ, जानिन्छ तर मोक्ष प्राप्तिको लागि अधिकार प्राप्त हुँदैन |
वैदिक शास्त्रहरूले ब्रतबन्ध नगरेका व्यक्तिले गरेको कर्मकाण्ड देवता, ऋषि तथा पितृहरूले अस्वीकार गर्छन् भनेका छन् | तेसैले जुनसुकै देवकार्य, ऋषिकार्य वा पितृकार्यमा अधिकारिक रुपमा सहभागी हुन ब्रतबन्ध अनिवार्य हुन्छ | मैले धेरै पटक घरमा स-साना बालकहरूको ब्रतबन्ध नहुँदै आमावुवा वा अभिभावकको मृत्यु हुँदा क्रिया गर्नका लागि अन्य कुटुम्बबाट सहयोग प्राप्त गरिन्छ | ब्रतबन्ध नगरेका बालकले आफ्ना आमावुवाको क्रियासमेत गर्न मिल्दैन | साथै, हाम्रो समाजमा ब्रतबन्ध नगरेका बालबालिकाका लागि कुनै कुरा बार्नु पर्ने हुँदैन तर ब्रतबन्ध गरेपछि एकादशी, पूर्णिमा, औशी, जूठो, सूतक सबै लाग्छन् अर्थात् बार्नुपर्छ | ब्रतबन्धलाई मैले “वैदिक नागरिकता” भन्ने गरेको छु |
वैदिक संस्कारहरूमा विश्वास गर्ने ब्राह्मणले आफ्ना बालकको ब्रतबन्ध १६ वर्षको उमेर भित्र, क्षेत्रीले १८ वर्षभित्र र वैश्यले २२ वर्षभित्र अनिवार्य रूपमा गर्नुपर्छ | त्यसपछि गरिएका ब्रतबन्धले अधिकार प्राप्त गर्दैन | डोरो झुड्याउने कामलाई इभेन्ट भनिन्छ, ब्रतबन्ध होइन |

