बोन्पो, वोन वा पोन के भौतिकवादी धर्म हो ?
नेपाल प्रज्ञाप्रतिष्ठानले प्रकाशित गर्ने “दर्शनावली-६ मा बोन्पो धर्म सम्बन्धि जानकारी दिने दूईबटा रचनाकृतिहरू छन् | ती पहिलो प्राज्ञ विष्णु प्रभातको “प्रकृतिपूजक बोन दर्शन : संक्षिप्त परिचय र विष्णु प्रसाद शर्मा पराजुलीको “कर्णालीमा प्रचलित बोन,शैव र बौद्ध धर्मदर्शनको परम्परा” छन् | दूवै लेखहरू मध्ये पहिलो लेखमा बोन्पोपन्थको दार्शनिक परिचय दिने प्रयत्न गरेको छ भने दोस्रोले संक्षिप्त परिचयमात्र प्रस्तुत गरेको छ |
बोन सम्प्रदाय नेपालका प्राचीन पन्थहरू मध्ये एउटा हो | यो सम्प्रदायको वास्तविक उद्भव कहाँ भएको हो भन्ने विषयमा इतिहासकारहरू बीच मतभेद छ | कसैले तिब्बत, कसैले नेपाल त्बो केही विद्वानहरूले अफगानिस्तान र पाकिस्तानको समेत उल्लेख गरेका छन् | तर वोन-पुराणका अनुसार स्वर्गीय प्रतिनिधिका रुपमा से राव मि वो (ई,पू. १९१७) ले बोन पन्थको स्थापना गरेका हुन् भन्ने विश्वास गरिन्छ | तत्कालीन पश्चिमी तिब्बतेली भूभागका राजा समेत रहेका से रावले बोन पन्थको स्थापना गरेर तेसको साधनाको दीक्षा र शिक्षा दिएर मनुष्यमात्रलाई “स्वर्ग”मा लैजाने सङ्कल्प गरेका छन् | बोन साधकहरूले बोन कर्मकाण्डको पालना गरेर पूर्णता प्राप्त गर्छन् भनिएको छ |
वैदिक, जैन र बौद्ध (अहिले किरात)हरूका धार्मिक, दार्शनिक तथा आचरणगत आस्थाहरू गुरुशिष्य परम्परागतमा निर्भर छन् | सामान्यभाषामा यो परम्परालाई “सम्प्रदाय” भनिन्छ | प्राचीन बोन संस्कृति पनि सम्प्रदाय अर्थात् गुरुशिष्य परम्परा मै जीवित रहेको हो | जसरी आचार्य शङ्करले अद्वैतवादी सम्प्रदायको स्थापना गरे, जसरी निम्बार्काचार्यले द्वैतावैतवादी सम्प्रदायको पीठ स्थापना गरे, जसरी बुद्धबाट बौद्ध सम्प्रदायहरूको जन्म, विकास र विस्तार भयो तेसरी नै सेराव मिवोले स्वर्गीय प्रतिनिधि बनेर बोन्पो सम्प्रदायको स्थापना गरेका हुन् | बोन्पो सम्प्रदायमा ती सबै विशेषताहरू छन्, जुन एउटा वैदिक, जैनी तथा बौद्धहरूले विकसित गरेका विभिन्न सम्प्रदायमा छन् |
वोन धर्म र संस्कृतिका विषयमा नेपाली समुदायमा निकै अन्यौल देखिन्छ | नेपाली लेखकहरूले धामीझाक्री, तामांग, गुरुङ, थकाली तथा बखसजातिमा बोन धर्म-संस्कृतिको प्रभाव रहेको र यो धर्म-संस्कृति वैदिक हिन्दू संस्कृति भन्दा पनि प्राचीन रहेको भन्दै विचारहरू प्रेषित गरेको पढ्न पाइन्छ | केही विदेशी विद्वानहरूले पनि वोन धर्मले नेपाली संस्कृतिमा प्रभाव पारेको भनेर लेखेका छन् | केही प्रगतिशील लेखकहरूले त झन् “वोन धर्मबाट हिन्दू संस्कृति अत्यन्त प्रभावित भएको र वोन धर्मबाट धेरै सिकेको” बताएपछि इतिहासको वास्तविकता र प्रगतिशीलहरूको पूर्वाग्रह (हिन्दू धर्मलाई नयाँ र आक्रमणकारी ठान्ने) बीच निर्क्यौल गर्न आवश्यक भएको छ | हिन्दू संस्कृतिबाट बोन प्रभावित भएको हो कि बोन संस्कृतिलाई संस्कृतले अङ्गीकार गरेको हो ? छुत्याउँन आवश्यक भएको छ | पूर्वाग्रहले इतिहासलाई बंग्याउन सक्छ तर परिवर्तन गर्न सक्दैन |
यो लेखमा मैले वोन धर्ममा प्रमाणिक अनुसन्धान गरेका विदेशीहरूका अनुसन्धान कृति, नेपालीहरूले वोन धर्मका सम्वन्धमा लेखेका लेख-अनुसन्धानहरू र कृष्ण र स्वेत बोन सम्प्रदायका अंग्रेजीमा अनुदीत ग्रन्थहरूका दार्शनिक उद्गारहरूलाई बोनगुरूहरूसंग प्रमाणिकता जाँचेर खोजेका विषयवस्तुहरू लेखेको छु | शाक्यमुनि बुद्ध भन्दा धेरै पहिले जन्मिएर पश्चिमी तिब्बतेली क्षेत्रमा ईसाको आठौँ शताब्दिसम्म राज्य गरेका (रोसी, १९९९ :१२) भनि बौद्धहरूले समेत स्वीकार गरेको वोन्पोको विषयमा प्रमाणिक तवरले लेखेको छु | ऐतिहासिक साक्षहरूले बोन्पो संस्कृतिको विकास र विस्तार तिब्बतबाट हुँदै नेपाल, भारत र कोरियातिर छिरेको (रोसी, १९९९:१३) प्रमाणित गर्छन् |