नियमित आकस्मिकता
नेपालको आफ्नो मौलिक तर समकालीन दर्शनशास्त्र कुन् होला ? धेरैलाई यस्तो प्रश्ननै अतिरंजित लाग्न सक्छ किनभने धेरैलाई एउटा नेपाली नागरिक पनि दार्शनिक सिद्धान्तको संस्थापक हुन सक्छ भन्ने तत्थ्य विश्वास गर्न गाह्रो हुन्छ | नेपाली विद्यालयहरूले, विश्वविद्यालयहरूले र अन्य अनुसन्धान संस्थाहरूले सधैं अब्बल बैज्ञानिक, अब्बल सिद्धान्तकार, अब्बल राजनैतिक, दार्शनिक तथा धार्मिक चिन्तनहरू विदेशी नै हुन्छन् भनेर सिकाउँदै आएका छन् र विशिष्टतहका विद्वानहरू होउन् वा भर्खरै कक्षा आठको GK घोक्दै गरेका बालबालिका होउन् – सवैले विदेशीहरूकै नाम सुन्दै, पढाउँदै र मान्दै आएका छन् | धेरैलाई नेपाली नागरिक पनि अब्बल सिद्धान्तकार, वैज्ञानिक, दार्शनिक तथा र अब्बल मानवतावादी हुन्छ भन्ने तथ्यमा विश्वास लाग्दैन |
तर सत्यको अर्को पाटो निकै उज्ज्वल छ | हाम्रा गुरूहरू, राजनैतिक नेताहरू, विद्यालय र विश्वविद्यालयहरूले उपर्युक्त आधारभूत प्रश्न उठाउने विषयमा निकै अल्मलमा परेका छन् वा पारिएका छन् | उदारहणको लागि सन् राजा जयपृथ्वी बहादुर शाहले मानववाद (१९२७) पुस्तक लेखेर विश्वभरी मानवतावादका लागि आह्वान गर्दा विश्वमा आधिकारिक रूपले आधुनिक मानवतावादमा कलम चलाउने र सैद्धान्तिक स्वरूप दिने शाह अर्को विचारक थिएन | साच्चिकै भन्ने हो भने श्रीशाह आधुनिक मानववादी चिन्तनका सिद्धान्तकार, प्रचारक र पुरोहित हुन् | यदि नेपाली विविहरूले यो तत्थ्य आफ्ना पाठ्यक्रममा राखिदिएको भए माग्रेट अर्टवुडका ठाउँमा जय पृथ्वीबहादुर शाहको नाम हुन्थ्यो र मानवतावादका पहिलो सिद्धान्तकार जन्माउने प्राधिकार नेपाललाई रहन्थ्यो |
दर्शनशास्त्रको विनम्र विद्यार्थी भएको नाताले मेरो दृष्टिकोण चाहिं समकालीन नेपालमा दर्शनशास्त्रको नवीनतम सिद्धान्त निर्माण गर्न कलम चलाउने विद्वानको पहिचान गर्नु हुन्छ | धर्म, राजनीतिआदिमा धेरैले कलम चलाएका छन् तर सिद्धान्त निर्माणको तहमा पुग्न भने केही स्वनामधन्य विद्वान्हरू सफल छन् | दर्शनशास्त्र विधामा पहिलो सिद्धान्त प्रस्तुत गर्ने नेपाली व्यक्तित्व बालकृष्ण सम हुन् | बालकृष्ण समले प्राचीन भारतवर्षीय, पाश्चात्य दार्शनिक सिद्धान्तहरूको अध्ययन गरेर “पतंजलि, फाइड, बुद्ध र सेक्सपियर”बाट सिक्दै नवीनतम मौलिक दार्शनिक चिन्तनको अभिनिर्माण गरे (गर्ने प्रयत्न गरे) जसको नाम उनले आफै “नियमित आकस्मिकता” भनेर जुराए |
हो, कालक्रमको हिसावले आधुनिक मानवतावादमा कलम चलाउने पहिलो र विश्वको पनि पहिलो व्यक्ति राजा जयपृथ्वी बहादुर सिंह हुन् भने दर्शनशास्त्रलाई समातेर नवीनतम दार्शनिक सिद्धान्त “नियमित आकस्मिता”को अभिनिर्माण गर्ने व्यक्ति बालकृष्ण सम हुन् | यद्यपि, कवि शिरोमणि लेखनाथ पौड्यालले ऋतुविचार र तरुणतपसीमा “आध्यात्मिक पर्यावरणवाद”को सिद्धान्त निर्माण गरेका छन् तर स्वयं पौडेलले आफुले “आध्यात्मिक पर्यावरणवाद” नामक दार्शनिक सिद्धान्त निर्माण गरेको तत्थ्य स्वीकार गरेका छैनन् | बालकृष्ण समले आफ्नो कृतिको नामनै “नियमित आकस्मिकता” राख्दै प्राविधिक दृष्टिकोणले “विज्ञानको दर्शन”का रूपमा नियमित आकस्मिकता नामक सिद्धान्त निर्माण गर्न सफल भएका छन् | ठ्याक्कै दार्शनिक दृष्टिकोणबाट नियमित आकस्मिकतावादको समीक्षा गर्दा आलोचना सहनु परे पनि “नियमित आकस्मिकता” नेपालको पहिलो आधुनिक दार्शनिक सिद्धान्त हो र यसका सिद्धान्तकार बालकृष्ण सम हुन् भन्दा गौरव गर्नुपर्छ |
“नियमित आकस्मिकता” दूई शब्द मिलेर बनेको छ जसलाई मैले अंग्रेजीमा “Continuum Contingency”का रूपमा अनुवाद गरेको छु | बालकृष्ण सम स्वयंले यसको अनुवाद गरेका छैनन् | परमतत्त्वको स्वभाव वारे विश्वका दार्शनिकहरू दुई ध्रूवमा विभाजित छन् | केहीले परमतत्वलाई अपरिवर्तनीय अर्थात् स्थिर मानेका छन् भने केहीले परमतत्वको स्वभावलाई परिवर्तनशील अर्थात् अस्थिर मानेका छन् | उदाहरणका लागि ग्रीकेली दार्शनिक पार्मेनाइडिजले परमतत्वको स्वभाव “स्थिर” मानेका छन् भने हेरेक्लाइट्सले परमतत्त्वको स्वभाव अनित्य र अस्थिर भएको बताएका छन् | एता गौतम बुद्ध अनित्यका पक्षधर हुन् भने आचार्य शङ्करसहित अनेकौं दार्शनिकहरूले परमतत्वको स्वभाव नित्य र स्थिर हुन्छ भन्ने मान्यता राखेका छन् | बालकृष्ण समले यी दूवै विचारधारालाई “सापेक्षित रुपमा सत्य” भएको मान्दै दूवैधारा संगै नभएसम्म “प्राकृतिक सत्य” स्थापित नहुने बहस गरेका छन् | वैदिक तथा पाश्चात्य दूवै दार्शनिक चिन्तनहरूका विचमा मध्यस्थता गर्दै “नियमितता र अनिश्चितता” दुवै सहयोग भएको सत्य उद्घाटन गर्ने जमर्को गरेका छन् |
जर्मन दार्शनिक कान्टले विज्ञानवाद र इन्द्रीय प्रत्यक्षवाद संगै उभिएमात्र सत्यको बास्तविक स्वरूप प्रकट हुने सम्भावनालाई सिद्धान्तको रूप दिएका थिए भने बालकृष्ण समले विज्ञानका नियमहरूलाई टेकेर सत्यको स्वभाव जान्न सकिने र त्यो नियम नियमित आकस्मिकता भएको उल्लेख गरेका छन् | असलमा, बालकृष्ण समको नियमित आकस्मितावादी दार्शनिक चिन्तन विज्ञानको सहयोगी मात्र हो | बालकृष्ण समले नियमितता र आकस्मिकता दुई फरकफरक प्राकृतिक स्वभाव हुन् तर यी दूवै फरकफरक परिवेशमा भए पनि नियमितता ए आकस्मिकताको एकठाउँमा भेट हुँदा मात्र “घटना-घट्छ” र यही घटनाले प्रकृतिको बोध हुन्छ भन्ने अभिप्राय व्यक्त गरेका छन् | बालकृष्ण समको चिन्तन विज्ञान र बैज्ञानिक विकास तथा भौतिकवादी चिन्तनबाट निकै प्रभावित छ | उनी दर्शनशास्त्रलाई विज्ञानको सहयोगीका रूपमा मात्र प्रस्तुत गर्न चाहन्छन् – एउटा दार्शनिकको लागि यस्तो मान्यता आत्मघाती हुन्छ |

