दर्शनशास्त्रमा विचार र विचार
विश्वविद्यालयमा दर्शनशास्त्र पढ्ने विद्यार्थी घटेका छन् तर दर्शनशास्त्रप्रति अभिरुचि घटेको छैन | दर्शनशास्त्र मूलत: चिन्तन, जिज्ञासा र विष्मयको जीवन्त इतिहास, वर्तमान र भविष्य पनि हो | दर्शनशास्त्र रोमान्टिक विषयवस्तु भने पटक्कै होइन तर रोमान्सका विषयवस्तुहरू दर्शनशास्त्र वाहिर छैनन् | के दर्शनशास्त्र सधैं चिन्तनमा अभिरत रहन्छ ? प्रश्ननै अतिरन्जित छ | एउटा हाडमासुले बनेको मान्छे अन्य मान्छेसरह नै हुन्छ तर चिन्तनको क्षेत्रफल फरक हुन्छ | मानसिक रूपले स्वास्थ्य विश्वको कुनै पनि मान्छे चिन्तनशून्य हुँदैन | सायद, प्राक्-मानव पनि विचारशून्य थिएन |
दर्शनशास्त्रको एउटा पक्षमा विचारशून्यताको कुरा पनि उठ्छ | विचार शून्यताका दुई अवस्थाहरू वारे कुरा गरौँ | विचारशुन्यताको एउटा प्रारूप हो पूर्णविचार (state of full of awareness) भने अर्को पक्ष हो विचारहीनता (state of Zero-awareness) | बौद्ध दर्शनमा महायानवादीहरू पूर्णविचार र स्थाविरवादीहरू शून्य विचारका साधक मानिन्छन् | योग दर्शनमा पनि यस विषयमा चर्चा गरिएको छ | शून्य विचार ऋणात्मक व्यबस्था हो भने पूर्णविचार धनात्मक अवस्था हो | अभ्यासका तहमा यी दूवै प्रचलित छन् र यी दुई विच अन्तरविरोध पनि छ | तर विचारशून्यताबाट दूवै आरम्भ हुन सक्दैनन् भन्ने तत्थ्यमा बहस गर्न मिल्दैन र सकिन्न पनि |
कहिलेकहीं चिन्तनमा एस्तो अवस्थाको कल्पना आउँछ कि विश्वका सम्पूर्ण मान्छेहरू वेलुका १० बजे सुतेर विहान ६ बजे उठ्दा मानवीय मस्तिष्क पूर्णतया शून्य भएका होउन् ! यदि यस्तो अवस्था आयो भने मानवीय विश्वमा कस्तो परिवेश र अवस्था उपस्थित होला ? मान्छेहरूले आफु सुतेको र उठेको, आफु सुतेको विस्तार, कोठा र संगै सुतेका व्यक्तिहरूका सम्बन्धका वारेमा कुनै पनि सूचना नभएको र आफ्नो उपस्थिति मै आश्चर्य गर्ने परिवेश उत्पन्न भए के हुन्थ्यो ? यो कल्पना अवश्य हो तर असम्भव कल्पना होइन | आजको ठीक एकवर्षपछि आजकै दिन विहान ठीक ६ बजे मान्छेहरू पूर्णतया विचार शून्य हुने छन् भन्ने भविष्यवाणी गलत हो भनेर प्रष्ट जानकारी दिने क्षमता विज्ञानसंग छैन | एउटा बैज्ञानिक र सर्वसाधारण कृषक दूवै “अर्को वर्षको आजको दिन, आजको दिनझैं हामी सचेत हुने छौँ” भन्ने विश्वास गर्नुको विकल्प छैन |
उपर्युक्त सम्बन्धमा विश्वमा तीनबटा सिद्धान्तहरू छन् (१) मान्छेको चेतना सहजात (innate) हुन्छ (२) मान्छे विचारशून्य हुन्छ (White board) र (३) विचारनिर्माणमा सहजात, अनुभवजन्य दूवैको सहकार्य हुन्छ | आजको समाजले दोश्रो विकल्पलाई बढी विश्वास गर्छ | यस्तो हुनुको मूल कारण चाहिं विज्ञानका चमत्कारहरू हुन् | यदि दोस्रो विकल्पका पक्षमा उभिने हो भने भर्खरै जन्मिएको शिशुले विचार गर्न सक्ने र विचारहरूलाई राख्न सक्ने खाली मसिन लिएर जन्मिएको हुन्छ | तर त्यस्तो मसीनलाई केवल प्राकृतिक घटनाको अर्थमा बुझ्न सजिलो हुँदैन | सत्य के हो भने मसीनहरू सधैं अपरिवर्तनीय, अप्रभावित रहन्छन् भनेर विश्वास गर्नु उचित हुँदैन | आजसम्मको सत्य के हो भने भरिएका मस्तिष्कहरू मृत्युपछि कुनै काम लाग्दैनन् | फेरी पनि विचारशुन्यता स्थापित हुन्छ नै |
मान्नुपर्छ कि विज्ञान मान्छेले निर्माण गरेको हो | विश्वब्रह्माण्डका घटनाहरू विज्ञान होइनन् | विचारशून्य मान्छेका लागि कुनै घटना, दुर्घटना, विज्ञान, ज्ञानआदि उद्दिपक हुँदैनन् | एउटा एउटा दार्शनिक चेतना भएको व्यक्तिले १० वर्षपछिका सम्भावनाहरूमा वहस गर्न सक्छ र एउटा बैज्ञानिकले पनि | यो विन्दूमा विज्ञान र दर्शन एकठाउँमा उभिन्छन् तर अभिमुखीकरण फरक हुन्छ | विज्ञानसंग कार्यकारणको विश्वास हुन्छ, दर्शनसंग तर्कको सङ्गति हुन्छ | विचार शुन्यताको प्रक्कल्पना (Hypothesis) तार्कीक निरन्तरतामा आधारित हुने हुँदा विज्ञानका लागि मार्गदर्शक बन्छ | आजको विज्ञानसंग डेभिड ह्यूमले तार्किक रूपमा उठाएका प्रश्नको कि “कार्य र कारण फरक घटना हुन सक्छन् तर एक आपसमा जोडिएका छन् भन्न मिल्दैन” उत्तर छैन |
व्याबहारिक जीवनमा विचारशून्यता एउटा असम्भव अवस्था हो | योग दर्शनमा विचार शून्यताको अवस्थालाई समाधि भनिएको छ | आधुनिक योग र ध्यानका व्यापारीहरूले विचारशून्यतालाई “सर्वोच्च सुख”का रुपमा प्रस्तावित गर्दै मान्छेहरूलाई आफूतिर लोभ्याउने प्रयत्न गरिरहेका छन् | ध्यान र विचार शून्यता निकै फरक कुरा हुन् भने समाधि एउटा बैचारिक सुखद सपना हो | धेरैजसो चिन्तनशून्य बनाउने प्रयत्नहरू दुर्घटनामा रुपान्तरित हुन्छन् | लागूऔषध, नशाआदि यस्तै अभ्यास हुन् | परिणामचाहिं सुखद हुँदैनन् | कोमामा गएको मान्छेलाई सर्वसुखी भन्न मिल्दैन | यदि कुनै व्यक्ति “म समाधिमा छु” भन्छ र “समाधिमा गएर फर्किएँ” भन्दैछ भने दूवै असम्भव विषय हुन् | विचार पूर्वक विचार शून्यता हुनै सक्दैन |
अनुभववादीले भनेझैं हरेक साक्षात्कारलाई ज्ञान मान्ने हो भने आउंदैजाँदै गरेका असंख्य अनुभूतिहरूको व्यबस्थापन ज्ञानका रूपमा हुनुपर्छ | ज्ञानलाई सहजात मान्ने हो भने विचारशून्यता असम्भव तत्थ्य हुन्छ | रह्यो कुरा संयोजनको (Coalition) यो मान्छेले समस्या समधानको लागि गरेको तेस्रो प्रयत्नमात्र हो | भोली विहान उठ्दा विचारशुन्य मष्तिस्क स्वत: क्रियाशील हुने छ भन्ने विश्वासका साथ सुत्नुको कुनै विकल्प छैन |

