जैन धर्म, ऋषभदेव र नेपाल

जैन धर्म, ऋषभदेव र नेपाल

जैन धर्म, ऋषभदेव र नेपाल

अयोध्याका राजा नाभी र उनकी धर्मपत्नी मरुदेवीको प्रथम सन्तानका रूपमा जैन धर्मका संस्थापक ऋषभदेवको जन्मभएको विश्वास गरिन्छ | आफ्नो राज्यकालमा यिनले १. असी (तलवार अर्थात् सुरक्षा ) २. मसी (अर्थात लेखनकला) ३. कृषि, ४. विद्या, ५. वाणिज्य तथा ६. शिल्प यी छ प्रकारका कर्मको स्थापना गरेको विश्वास गरिन्छ | हाल चाइनामा पर्ने कैलाश पर्वतमा यिनले प्राण त्याग गरेको विश्वास गरिन्छ |
ऋषभदेवमा इन्द्रको सभामा नाच्दै गरेकी एकजना अप्सरा नाच्दानाच्दै मरेको देखेर वैराग्य भयो र नेपालको कालिगण्डकी किनारामा बसेर ठूलो तपस्या गरे | तेहीबाट यिनले आफ्ना इन्द्रीयहरूउपर विजय प्राप्तगरी (जैनत्व) प्राप्त गरे | यिनका नौ भाई छोरा थिए | ती सबैका आ-आफ्ना राज्य थिए ती राज्यहरूलाई नवखण्ड भनियो | तर सबैका सम्राट भने भरत हुन् भन्ने पुराण तथा जैनआगमहरूले उल्लेख गरेकै छन् |
यिनले आफ्नो जीन्दगीको अन्तिम समय नेपालको पर्वत, म्याग्दीको गण्डकीको किनाराहरूमा विचरण गरेर विताएको कुरा पंचम स्कन्ध, चतुर्थ अध्याय, श्लोक ९ मा उल्लेख गरिएको छ | भागवतमा पाँचौं स्कन्धना ऋषभदेवले आफ्ना छोराहरूलाई दिएको आध्यात्मिक उपदेश निकै प्रसिद्ध रहेको छ |
निर्विवाद रूपमा ऋषभदेवले वैराग्य लिएपछि मात्र जैनपन्थको स्थापना र प्रचारप्रसार गरेका थिए | ऋषभदेवले नेपालका जङ्गलमा आफ्नो जीवनको अन्तिम चरण विताएको हुँदा उनले यहींबाट नै जैनधर्मको स्थापना गरेको भन्ने तत्थ्य स्वत: सिद्ध हुन्छ | अन्य, २३ तीर्थंकरहरूको सम्बन्ध नेपालसंग रहेको थियो कि थिएन भन्न सकिन्न | जैनधर्मका अन्तिम तीर्थंकर महावीर जैनको जन्म नेपाल मै भएको हो भन्ने कुरा पनि गरिन्छ तर मैले प्रमाणिकसामग्रीहरू भने पढ्न पाएको छैन |
केदारनाथ प्रधानले आफ्नो अनुसन्धान पत्र “नेपालमा मानवको उद्भव र विकास सम्वन्धी चिन्तन परम्परा : एक अध्ययनमा लेखेका छन् “वंशावलीमा करिव ३०० इसापूर्वतिर जैन तीर्थंकर भद्रवाहु धर्म प्रचार गर्न नेपाल आएको, रातो मच्छेन्द्रनाथसंग जैन धर्मको सम्वन्ध र लिच्छिवी राजा वृषभसेन जैन धर्मका अनुयायी भएकोले जैन धर्मको पनि नेपालमा ऐतिहासिक उपस्थिति मान्नुपर्छ |” एसले पनि जैनदर्शनको नेपालमा दह्रो उपस्थिति थियो भन्ने बुझ्न मदत मिल्छ |
केही जैन विद्वानहरुले तीर्थंकर नेमिनाथ, महावीरआदिको जन्म नेपाल मै भएको विश्वास गर्छन् तर एसका लागि प्रमाणिकता आवश्यक देखिन्छ | ऋषभदेवको तपस्यासंग जोड्दा जैनधर्मको इतिहास नेपालसंग नजोडी सुख पाइन्न | आजभोली नेपाली मूलका धेरै धर्मगुरूहरू र साध्वीहरूले जैन धर्म ग्रहण गरेर देशना गरिरहेका छन् | वि-वि.स.२०६८ को जनगणना अनुसार नेपालमा जैन धर्म मान्ने जनसंख्या ३२१४ जना रहेका छन।
तेसैगरी, ऋषभदेवका छोरा भरतले म्याग्दीको गलेश्वरमा बसेर तपस्या गरेको उल्लेख छ | तपस्वी भरतको नामबाट नै भारतवर्ष नाम रहन गएको हो | असलमा, अहिलेको भूगोलका लागि “भारत” भन्नु केही अर्थमा त्रुटीपूर्ण छ | भारतेली राजनैतिक भूगोल मात्र “भारत” पक्कै होइन |
जैन धर्मका संस्थापक ऋषभदेव एस पन्थका प्रथम तीर्थंकर हुन् | पार्श्वनाथ तेइसों र महावीर चौविसौं गुरू हुन् | तर बर्धमान महावीरले जैनसम्प्रदायलाई उन्नत बनाएका हुन् | तेसैले जैनपन्थमा सबैभन्दा महत्व महावीर कै छ | धेरै विद्वानहरूका अनुसार महावीर नै जैनपन्थका वास्तविक प्रणेता हुन् | श्रीमद्भागवत, पद्मपुराण, स्कन्दपुराणका आधारमा विद्वानहरूले जैनधर्मको आरम्भ ई.पू. ५२७ अगाडी भएको निष्कर्ष निकालेका छन् | यो महावीरले सिद्धता प्राप्तको मिति हो |
जैन शब्द जिन् धातुबाट बनेको हो जसको अर्थ विजेता हुन्छ | मन, वाणी, शरीरका प्राथमिक आवश्यकताहरू उपर विजय प्राप्त गर्ने व्यक्ति नै जिन् हो | ज्ञान प्राप्त व्यक्ति नै जिनेश्वर हो | मैले अगाडी उल्लेख गरेका २४ जना व्यक्तिहरू जिनेश्वर हुन् | यी सबैले मन, शरीर वाणीमा विजय प्राप्त गरेर विजेता बनेका हुन् |
जैनलाई अवैदिक धर्म भनिए तापनि वेद, उपनिषद् तथा पुराण ग्रन्थहरूमा ऋषभदेव र अन्य तीर्थंकरहरूका विषयमा प्रचूर वर्णन भएको छ | यसरी, जैनधर्म भारतवर्षको प्राचीनतम पन्थ वा सम्प्रदाय हो | वेदलाई प्रमाणिक नमान्ने भएकोले वैदिकहरूले “नास्तिक” भने तापनि जैन वैदिक चिन्तन नै भन्नुपर्छ |
जैन पन्थका अनुसार विश्वको सृजकका रूपमा कुनै ईश्वरको अस्तित्व छैन तर ज्ञानका दृष्टिले जिनेश्वरहरू नै ईश्वर सदृश छन् | जैन धर्मका अनुसार अरिहन्त वा सिद्ध नै ईश्वर हुन् | जैनधर्मका अनुसार संसारको सृष्टि अरिहन्तले गरेका होइनन् अपितु यो संसार नित्य वस्तु हो | संसारका सबै प्राणीहरूले आफ्नो कर्म र तेसको फलनै भोगिरहेका छन् | आफ्नो कर्मअनुसार नै हरेक मान्छेले सुखदुख भोग्छ, स्वर्ग वा नर्कको स्वाद प्राप्त गर्छ | मान्छेको कर्ममा कुनै प्रकारको हस्तक्षेप हुँदैन |
हरेक जीव शुद्ध, बुद्ध, चैतन्य र स्वतन्त्र छ | संसारिक (पुद्गल)को सम्पर्कमा आएपछि जीवमा अशुद्धि उत्पन्न हुन्छ | पुद्गलका कारण जीव कर्ममा फंस्छ | कर्मको आवरणले उसमा अज्ञान उत्पन्न हुन्छ अर्थात् ज्ञानवरणीय चेतना धूमिल हुन्छ | तीर्थंकरहरूले उपदेश गरेको साधना गरेर हरेक जीवले आफ्नो शुद्धस्वरूप प्राप्त गर्न सक्छ |
जैन मतलाई ‘स्याद्वाद’ पनि भनिन्छ । स्याद्वादको अर्थ अनेकांतवाद अर्थात् एकै पदार्थमा नित्यत्व, अनित्यत्व, सादृश्य, विरुपत्व, सत्व, असत्व, अभिलाष्यत्व, अनभिलाष्यत्व आदि परस्पर भिन्न गुणहरू भएको हुन्छ | एस मतकाअनुसार आकाशदेखि लेकर दीपक पर्यंत समस्त पदार्थ नित्यत्व तथा अनित्यत्वआदि उभयधर्म युक्त हुन्छन् |
जैन धर्मको प्रमुख नारा “अहिंसा परमो धर्म हो” | जैन दर्शनकाअनुसार हरेक जीवको एउटा आयु हुन्छ | त्यो आयु नै उसको वास्तविक अस्तित्व हो | जव कुनै प्राणीको हत्या गरिन्छ, त्यो हत्याले धेरै प्राणीको भविष्य नष्ट हुन्छ | भविष्यमा जन्मिन सक्ने प्राणीको हत्या हुन्छ | असत्य, गालीगलौज, लोभ, मोह, घृणाआदि पनि हत्या नै हुन् | हरेक मान्छे उपरोक्त घृणित कर्मबाट जोगिनुपर्छ | अहिंसा नै जैनधर्मको मूलधार हो |
जैन धर्मको दोस्रो प्रमुख सिद्धान्त कर्म हो | कर्म नै सुखदुखको प्रमुख कारण हो | मान्छेले जे-जेस्तो कर्म गर्छ, उसले तेस्तै पुद्गलहरूको सङ्ग्रह गर्छ | मान्छे- जेजस्तो बन्न चाहन्छ, तेस्तै बन्न सक्छ | तर कर्म र तेसको फलबाट जोगिन सक्दैन | ज्ञानावरण, दर्शनावरण, वेदनीय, मोहनीय, अंतराय, आयु, नाम तथा गोत्र यी आठप्रकारका कर्महरूको विनाश भएपछि जीव कर्म के बंधनबाट मुक्त हुन्छ | राग-द्वेषबाट मुक्त हुनुका कारण उ सृष्टिका प्रपंच प्रपन्चबाट जोगिन्छ |
जैनधर्मका अनुसार जीव, पुद्गल, धर्म, अधर्म, आकाश र काल यी छ: प्रकारका द्रव्य छन्। यी द्रव्यहरू लोकाकाशमा छन् | अलोकाकाशमा केवल आकाश हुन्छ । जीव, अजीव, आस्रव, बंध संवर, निर्जरा र मोक्ष यी सातप्रकारका तत्व छन् । यी तत्वहरूको तात्विक स्वरूप बुझेपछि सम्यग्दर्शन, सम्यग्ज्ञान, सम्यक्चारित्र उत्पन्न हुन्छ । जैन दर्शनमा उपरोक्त तीन तत्थ्यहरूलाई त्रिरत्न भनिएको छ | यी मोक्षका मार्ग हुन् | मोक्ष प्राप्त भएपछि जीव समस्त कर्मबंधनबाट मुक्त हुन्छ र ऊर्ध्वगतिका कारण तेस्तो जीव सिद्धशिलामा विराजमान हुन्छ | तेहा जीवले अनंत दर्शन, अनंत ज्ञान, अनंत सुख र अनंत वीर्यको अभिप्रप्ति गर्छ तथा अंतकालसम्म तेही निवास गर्छ | फेरी फर्केर संसारमा आउंदैन |
अनेकांतवाद जैन दर्शनको तेस्रो प्रमुख सिद्धान्त हो | एसलाई स्यादवाद पनि भनिन्छ | जैनहरूका अनुसार परमसत्यलाई एकै तरिकाले बुझ्न सकिन्न | सत्य धेरैप्रकारले निर्मित भएको हुन्छ | फरक-फरक प्रकृतिका मानिसले एकै सत्यलाई फरकफरकरूपमा बुझ्ने गर्छन् | एउटा सत्यलाई निम्नतम सातप्रकारले बुझ्न सकिन्छ | स्यात् अस्ति’, ‘स्यात् नास्ति’, स्यात् अस्ति नास्ति’, ‘स्यात् अवक्तव्य,’ ‘स्यात् अस्ति अवक्तव्य’, ‘स्यात् नास्ति अवक्तव्य’ तथा ‘स्यात् अस्ति नास्ति अवक्तव्य’ यही सप्तभंगी न्यायका रूपमा प्रसिद्ध छ र सत्यको वास्तविक स्वरूप बुझ्न सप्तभंगी न्यायको प्रयोग हुन्छ |
जैनधर्ममा आत्मशुद्धिको ठूलो महत्व छ | एसका लागि सत्य, अहिंसा, अस्तेय, ब्रह्मचर्य, अपरिग्रहको कठोरतम पालन गरिन्छ | मुनिहरूले यी ब्रतहरू प्रत्यक्षरूपमा पालन गर्नुपर्छ भने गृहस्थले सकेसम्म पालन गर्ने अपेक्षा गरिन्छ | एसै गरी जैन दर्शनमा जीव, अजीव, आश्रव, बन्ध, सम्वर, निर्जरा र मोक्ष यी साततत्वहरूको क्रमशः त्रिरत्न तथा पंचशीलका माध्यमबाट अभिप्राप्ति गरिन्छ | मोक्ष प्राप्त गर्न इच्छुक जीवले कठोरतापूर्वक पंचशीलहरूको पालन गर्दै साततत्वहरूको प्रत्यक्ष गर्नुपर्छ | र यो विश्व जीव, पुद्गल, धर्म, अधर्म, आकाश र कालद्रब्यबाट निर्मित भएको तथा साश्वत भएको ज्ञान प्राप्त गर्नुपर्छ |
आचार्य भद्रबाहु- अंतिम श्रुत केवली (ई.पू. ४३३-३५७) को समयमा केही कारणवस सन्यासीहरू वीच विवाद हुँदा जैनपन्थ दूईभागमा विभाजित भयो | जसले स्वेतबस्त्र धारण गर्ने निर्णय गरे उनीहरू स्वेताम्वर पन्थी भए भने जसले कुनै पनि वस्त्रधारण नगर्ने निर्णय गरे ती दिगम्वर भनिए | आज जैनहरू तारणपन्थ, तेरापन्थ, बीसपन्थ, देरावासी, स्थानकवासीआदि धेरै उपसम्प्रदायमा विभाजित छन् | तर मूलकुरा के हो भने प्राचीन जैनहरू दिगम्वर नै थिए र त्यो परम्परा आज पनि जीवित छ | नेपालमा भने दिगम्वर सम्प्रदायका जैनसाधु तथा साध्वीहरू देखिन्नन् |
गिरिडीह, झारखंड, अयोध्या, कैलाश पर्वत, वाराणसी, कुंडलपुर, पावापुरी, चंपापुरी, श्रवणबेलगोला आदि ठाउँहरू जैनहरूका पवित्र तीर्थस्थल हुन् | यी ठाउँ मध्ये केहीमा जैन तीर्थंकरको जन्मभएको, केहीमा ज्ञान प्राप्त भएको, केहीमा तपस्या गरेको र केहीमा धर्मको विस्तार गरेको भन्ने जैनआगमहरूमा उल्लेख छ | असलमा, हिन्दू, जैन तथा बौद्धहरूको विकास लगभग एकै ठाउँबाट भएको हुनाले तीर्थस्थलहरूमा निकै समानता देखिन्छ | विदेशी धर्महरूका विपरित हिन्दू, बौद्ध तथा जैनहरूले धर्मका नाममा आपसी काटमार गरेको इतिहास भेटिन्न | जय तथा पराजयको मापन “शास्त्रार्थ”ले निर्धारित हुन्थ्यो | हार्नेहरूले विजयीहरूको धर्म स्वीकार गर्नु पर्थ्यो | जैन, बौद्ध र हिन्दू आचार्यहरूले आफ्नो सम्प्रदायको विकास शास्त्रार्थमा पराजित गरेर नै गरेका हुन् |
नेपाल मूलत: शैव, शाक्त तथा वैष्णवहरूको थलो भन्ने गरिन्छ तर ऋषभदेव र महावीर स्वामीको इतिहास बुझ्नेहरू “जैन धर्मको उत्पत्ति थलो कालीगण्डकीको किनारमा भएको” भन्न डराउँन पर्ने अवस्था छैन | स्कन्दपुराण, भागवतपुराण, भविष्यपुराणआदिले जैनधर्मका प्रथमगुरू आदिनाथ ऋषभदेवले म्याग्दीको जङ्गलमा तपस्या गरेको भन्ने सन्दर्भ स्पस्टसंग लेखेका छन् | तेसैले अव जैनदर्शनको उत्पत्तिथलो नेपाल नै हो भन्ने कुरा स्थापित गर्नेतिर ध्यान दिनुपर्छ |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *