गीता र अन्य धर्मग्रन्थ
श्रीमद्भगवद्-गीता वैदिक सनातन हिन्दु धर्म, संस्कृतिको अभूतपूर्व, प्रामाणिक तथा श्रेष्ठतम ग्रन्थहरू मध्ये पर्छ | केही व्यक्ति र समुदायले श्रीमद्भगवद्-गीतालाई वेद भन्दा पनि “ठूलो” भन्दै प्रचारप्रसार गरेको भेटिन्छ | यस्तो भन्नु श्रीमद्भगवद्-गीता र भगवान् श्रीकृष्णको अपमान हो | साथै, वैदिक संस्कृतिभित्र रहेका विभिन्न विविधताहरूको अपमान हो र अब्राहमवादको हिन्दू संस्करण हो |
श्रीमद्भगवद्-गीता महाभारतको एउटा सानो अंश हो | महाभारत प्राचीन इतिहास ग्रन्थ हो | महाभारत शब्दले गीतालाई स्वत: समेटेको हुन्छ | महाभारतको यो सानो अंश भगवान् श्रीकृष्ण र अर्जुनको सम्वाद हो | स्कन्धपुराणले गीतालाई वेद र उपनिषदको सार भनेर प्रसंशा गरेको छ भने आचार्यहरूले गीतालाई वेदको सूत्रात्मक सारका रूपमा ग्रहण गर्दै यसको प्रचारप्रसार गरेका छन् | आजको मितिमा बाइबलपछि सर्वाधिक चर्चा हुने ग्रन्थ गीता नै हो | गीतालाई केवल विष्णु परक गन्थका रूपमा बुझ्ने/बुझाउनेहरूले के विर्सनु हुँदैन भने कास्मिरी शैवाचार्य अभिनव गुप्तले समेत गीतको भाष्य लेख्नुभएको छ | म स्वयंले पनि गीताको नेपालीमा अनुवाद गरेको छु |
पहिलो कुरा र वेद र गीतामा सानो र ठूलोजस्तो तुलनात्मक कुरा उठाउनु नै हुँदैन | दोस्रो कुरा, कुनै पनि वैदिक साहित्य वा ज्ञान प्रणाली वेदभन्दा माथिल्लो हुनै सक्दैन | आफुलाई वैदिक हिन्दू पनि भन्ने तर आफ्नो पन्थका गुरूले निर्माण गरेको “बंशी, तारतम सागर, उपदेशामृतआदि” सम्प्रदायका ग्रन्थलाई वेद भन्दा श्रेष्ठ हुन् भन्नु वैदिक संस्कृतिको मर्म नबुझ्नु हो | यदि कसैले वेद भन्दा अन्य ग्रन्थ “ठूलो” हो, वेद भन्दा राम्रो ज्ञान प्रदान गर्छ भन्नन् ती कि पाखण्डी हुन् वा वैदिक संस्कृतिको गुरुशिष्य परम्परा र ज्ञान परम्पराप्रति जानकारी छैन | जानकारी नहुनु अपराध होइन तर जानेर पनि नमान्नु वा पेल्नु अपराध हो |
मैले केही यस्ता नवोदित पन्थहरूलाई पनि पढेको, सुनेको तथा देखेको छु | उनीहरू नाम र ग्रन्थचाहिं सनातन धर्म र गीताको प्रयोग गर्छन् तर सम्पूर्ण आन्तरिक कार्यक्रमा गीताको नाम हुँदैन | गुरुले लेखेको ग्रन्थलाई वेद र गीता भन्दा ठूलो हो भने सर्वसाधारणको ब्रेन-धुने काम गर्छन् | वैदिक सनातन धर्मभन्दा वाहिरकाले सोझैं सनातन धर्मको आलोचना गरेर सावधान गर्छन् तर गीता, वेद तथा वैदिक संस्कृतिको आवरणलाई प्रयोग गरेर वैदिक संस्कृतिको खुट्टा काट्नेहरू ती विधर्मी भन्दा खतरनाक हुन्छन् | मैले भनिनरहनु पर्ला रामपाल, कल्कीअवतार भनिने सर्वानंदहरू यसका उदाहरण हुन् |
वैदिक परम्पराका प्राचीन षड्दर्शन, वीरशैव, शाक्त, कौल एवं आचार्य शङ्कर, रामानुज, निम्बार्क, मध्व, चैतन्य, बल्लभ तथा अन्य कुनै पनि आचार्य तथा सम्प्रदायहरूले वेदको उलंघन गरेका छैनन् | हो, सम्प्रदायगत उपासना गर्दा ती ग्रन्थको महत्वपूर्ण हुन्छन् तर वेद भन्दा महत्वपूर्ण हुँदैनन् | आचार्यहरूले प्रस्थानत्रयिको (ब्रह्मसूत्र, उपनिषद् तथा गीता) ब्याख्या गर्नुको कारण वेद निकै ठूलो हुनु पनि हो र सबैले सजिलैसंग बुझ्ने सम्भावना नहुनु पनि हो |
फेरी श्रीमद्भगवद्-गीता कै कुरा, नि:सन्देह यो पुस्तक सनातन वैदिक संस्कृतिको सारतत्वलाई सरल, सहज र सुसभ्य तवरले प्रस्तुत गर्छ तर गीता सरहका अन्य थुप्रै ग्रन्थहरू वैदिक संस्कृतिको सम्पदाका रूपमा उपलब्ध छन् | गीताको प्रशंसा गर्दा अन्य वैदिक ग्रन्थहरूको अपमान गर्नु हुँदैन | यदि गीताको पुस्तक बोकेर वैदिक सनातन धर्म, संस्कृति तथा परम्परामा विद्यमान अन्यग्रन्थहरूको आलोचना गर्छ वा गीतालाई वेद भन्दा पनि “ठूलो” भन्छ, भने उसको ज्ञान त्रुटीपूर्ण छ अथवा उसले जानाजान वैदिक संस्कृतिको अपमान गर्दै छ | त्रुटीलाई सुधार्नु पर्छ तर “पेल्न”हरूसंग झुक्नु हुँदैन |
वेदको सर्वोच्चतालाई आत्मसात गर्दै गीता तथा अन्य ज्ञान, भक्ति तथा कर्मप्रधान ग्रन्थको अनुवाद, प्रचारप्रसार गर्नुले सनातनधर्मको श्रीवृद्धि हुन्छ | यदि कसैले गीता वा अन्य सनातन ग्रन्थको आड लिएर वेद-विरुद्ध उपदेश प्रचारप्रसार गर्छ भने त्यस्तो पन्थ भ्रम हो | सनातन धर्मका विनम्र अनुयायीहरूले यस्ता नक्कली पन्थहरूलाई धार्मिकता ठानेर भ्रमित हुनुहुँदैन | फलानो पन्थमा प्रवेश गर्नु भन्दा पहिला वा प्रवेश गरेर निर्णायकतहमा पुगिसकेपछि यसले “वेदको सर्वोच्चता अस्वीकार गर्ने रहेछ” भन्ने थाहा पाउँदासाथ, त्यो पन्थलाई दीसाझैं चटक्क छोड्नुपर्छ | यही नैतिकताको उच्च आदर्श हो |
म गीता पढ्छु | गीता पढेर मनन गर्छु | मलाई गीता पढेर मन परेको हो | गीता पढेपछि मन पर्छ | गीताले कसैलाई जोरजवर्जस्ती गर्दैन | गीताले मार्ग दर्शन गर्छ | मान्छेको बौद्धिक स्वतन्त्रतामा हस्तक्षेप गर्दैन | गीताले सधैं निर्णयको स्वतन्त्रता दिन्छ | गीताले गीतासंग असहमत हुने स्वतंत्रता दिन्छ | गीताको केन्द्रीय विषयहरू विवेक, आस्था र कर्म हुन् | मान्छेसंग कर्मको विकल्प छैन | मान्छेसंग आस्थाको विकल्प छैन | मान्छेसंग बुद्धिको विकल्प छैन | ज्ञान, कर्म र भक्ति एकआपसमा जोडिएका छन् | ज्ञानका लागि, कर्मका लागि आस्था र आस्थाका लागि ज्ञान चाहिन्छ | तर कुनै आस्थामा बलियो हुन्छ | कुनै कर्ममा बलियो हुन्छ र कुनै बुद्धिमा | मान्छेले आफ्नो स्वभाव आफैले चिन्ने हो | मान्छेले आफ्नो लागि पूर्णस्वतन्त्रताको मार्ग आफै रोज्ने हो |
श्रीकृष्णको जीवन दर्शननै स्वतंत्रताको पूर्णअभ्यासमा आधारित छ | श्रीकृष्णलाई सुन्ने व्यक्ति कट्टरपन्थी हुनै सक्दैन | श्रीकृष्णलाई बुझ्ने व्यक्ति पूर्वाग्रही हुनै सक्दैन | श्रीकृष्णले जिज्ञासा सिकाएका छन् | गीताले जस्तोसुकै जिज्ञासाको शालीनतापूर्वक उत्तर दिन सिकाएको छ | सिकेको कुरा, जानेको कुरा, बुझेको कुरा स्वीकार गर्ने वा नगर्ने व्यक्तिको निजत्व भएको (गीता १८/६३) प्रत्याभूति गीताले दिन्छ | गीतामा कुनै जवर्जस्ती छैन तर कर्तव्यपालन गर्ने प्रेरणा छ | गीताका लागि हरेक व्यक्ति कर्तव्यसंग प्राकृतिक रूपमा बाँधिएको छ |
मैले गीता पढ्दा कसैले मलाई हिन्दु भएको बुझ्ला, कट्टरपन्थी भएको बुझ्ला, पूर्वाग्रही भएको बुझ्ला – यो बुझाई गीता नपढ्नेको वा गीताको आदर्शलाई पश्चिमा स्वच्छन्दतावादको आँखाले हेर्नेको हो | मलाई गीता पढेर स्वतंत्रता प्राप्त भएको छ | स्वतन्त्रता नियमभित्र हुन्छ | स्वच्छन्दता अराजकता हो | अराजकहरूले गीता बुझ्न चाहन्नन् | गीता धार्मिक प्रबचन होइन | गीता धर्म र धार्मिकता भन्दा धेरै थोक हो | बहुलतावादमा प्राकृतिक आस्था राख्नेले गीता सजिलै बुझ्छन् | एकलकाटे माइण्ड-सेट भएकाका लागि गीता बन्धन हो | अर्काका विचारको सम्मान गर्न नसक्नेहरूका लागि गीता “अधर्म” हो | गीताले भन्छ अधार्मिक त्यो हो जसले विवेकीय स्वातन्त्रताको सम्मान गर्न सक्दैन |
मेरो लागि सङ्कल्प र निर्णयको स्वतंत्रता र परमस्वतन्त्रतामा (मोक्ष) अन्तरसम्बन्ध छ | “मेरोवादी”हरूले यो तत्थ्य बुझ्न सक्दैनन् | “पुस्तक”मा पूर्वाग्रह भएकाले गीताको कुरा बुझ्न सक्दैनन् | धर्म र रिलिजनमा फरक नदेख्नेले गीता बुझ्न सक्दैनन् | धर्मनिरपेक्षताको नाममा कट्टरपन्थीहरूलाई धर्मनिरपेक्ष मान्ने आँखाले गीता बुझ्न सकिन्न | गीता पढ्नेहरू, बुझ्नेहरू कर्तव्यका लागि बलिदान दिन्छन् | आफ्नो पूर्णस्वतंत्रताका लागि साधना गर्छन् | लोककल्याणका लागि कर्म गर्छन् | समत्वप्राप्तिका लागि अभ्यास गर्छन् |
मेरा लागि गीता पढ्नु पूर्णस्वतन्त्रताको अभ्यास हो | समत्वको साधना हो | विश्व र आत्मकल्याणको तपस्या हो | मेरो लागि गीता विवेकीय स्वतन्त्रताको वैश्विक घोषणापत्र (Universal manifesto of mental freedom) हो | कार्लमार्क्सको साम्यवादी घोषणापत्रले कम्युनिस्ट बन भन्छ, कुरानले मुस्लिम बन भन्छ, बाइबलले इसाई बन भन्छ, त्रिपिटकले बौद्ध वन भन्छ तर गीताले “तिमी जे चाहन्छौं तेही बन (गीता १८/६३) भन्छ | साथसाथै प्रकृतिले प्रदान गरेको यस्तो विवेकीय स्वतन्त्रता नचिन्ने व्यक्ति पराधीनताको चक्रमा फँसेर नष्ट हुने चेतावनी (गीता १८/५८) दिन्छ | मानवको बुद्धि र बुद्धिजन्य स्वतन्त्रताप्रति मेरो समर्पण छ |
श्रीमद्भगवद्-गीता नै एउटा एस्तो बिश्वग्रन्थ हो जसले विश्व-मानवताको कुरा गर्छ जसमा हिन्दू, बौद्ध, जैन, आस्तिक नास्तिकआदि छन् | गीता बुझ्न र अनुसरणका लागि धर्म, सम्प्रदाय, आस्थाको वन्धनमा बाँधिनु पर्दैन | श्रीकृष्ण र अर्जुन बीच भएको संवाद श्रीमद्भगवद्-गीता जयन्तिका अवसरमा हामी सबैमा हार्दिक शुभकामना व्यक्त गर्छु |
श्रीमद्भगवद्-गीतासंग बाइबल वा कुरानजस्ता अन्य पन्थका धार्मिकसंग तुलना गर्दै समानता खोज्नेहरू निरर्थक छन् किनभने बाइबल र कुरान केवल इसाई तथा मुस्लिमहरूका पथप्रर्दशक ग्रन्थ हुन् | बाइबल र कुरान विश्वग्रन्थ नभएर इसाई मुस्लिमका ग्रन्थ हुन् – किनभने यो कुरा यिनै ग्रन्थले बोलेका छन् तेसैले इसाई र मुस्लिम दूवै समुदायका लागि विश्वका अन्य धर्म र सांस्कृतिक विश्वासहरू “शत्रु” हुन् |
श्रीमद्भगवद्-गीताको उपदेश घरघरमा पुग्नैपर्छ किनभने यो एकमात्र एस्तो ग्रन्थ हो जसबाट नेपालीले धर्मपरिवर्तनकारी “आततायी”हरूबाट सधैंका लागि मुक्ति प्राप्त गर्न सक्छन् | – स्वधर्म निधने श्रेय: परधर्मो भयावह: | नेपाली जरोकिलोका धमिराहरूबाट जोगिन गीता ज्ञान औषधि हो | स्वधर्मको रक्षाका लागि गीता पुज्ने होइन पढ्नुपर्छ |

