गीता जयन्तिमा मर्लिन मुनरोको खोज
म हिजो अर्थात् मंसीर २० गतेको बेलुका अन्दाजी ३ बजे काठमाडौँको एउटा प्रतिष्ठित अंग्रेजी माध्यमको विद्यालयमा थिएँ | प्रसंग चल्यो, मैले कक्षा १२ का विद्यार्थीलाई सोधें “गीता जयन्ति” कहिले पर्छ ? सबै अलमल्ल परे | ती मध्ये एकजनाले भने “खै, किन कर्दसिन, हिलारी क्लिन्टन, मार्लिन मुनरोको त थाहा छ, तर गीता, गीता को हुन् ?
उनीहरूका लागि गीता एउटा महिला हुनुपर्छ, त्यो पनि भारतीय हिरोइन | मैले जयन्तिको अर्थ पनि बुझाउन निकै गारो पर्यो | मैले गीताका वारेमा बताएपछि ती मध्ये एकजना युवतिको प्रतिक्रिया थियो ” ए, बाजेले पढ्ने किताव भनेको हो !!” धेरैका लागि गीता “बाजेले” पढ्ने एउटा धार्मिक किताव हो | जुन आधुनिकहरूले पढ्नुको कुनै औचित्य नै छैन |
आफ्नोपन खोज्नु मानिसको स्वभाव र अधिकार दुवै हो | मेरो आलोचना कसैको लागि होइन | सत्यलाई धेरैलाई पोल्छ | सरकार सबै नेपालीको अभिभावक हो | धर्म, संस्कृति तथा इतिहासको रक्षा गर्नु सरकारको कर्तब्य हो | जनताले सिकायत गर्ने पनि अभिभावक अर्थात् सरकारसंग नै हो | जुन सुकै सरकारहरू पनि आफ्नोपनको रक्षा र निरन्तरता दिनु प्राथमिक कर्तब्य हुन्छ | नेपाल सरकार एसमा चुकेको छ | यो आलेख खवरदारीको लागि हो | जनताले गर्न सक्ने काम पनि यही हो |
२०२८ सालपछिको जनशक्ति नेपाल र नेपालीको स्वाभिमान गर्न पनि विदेशीले लेखिदिनु पर्ने, बोलिदिनु पर्ने रोगबाट ग्रस्त भएको छ | यो आलेख पढ्ने धेरै आधुनिकहरूले नाक खुम्च्याऊने छन् | केहीले बुझे पनि भाग्यवादमा आफुलाई समर्पित गर्ने छन् | जसले साच्चिकै बुझ्ने छन्, उनीहरू केवल एसका साक्षीमात्र बन्ने छन् | तैपनि मेरो विश्वासले भन्छ, हरेक नेपालीको मनमा नेपालोदय लुकेकै छ | नेपालोदयका लागि चाहिने चेतनाको जागृति बाँकी छ |
नेपाल-सरकारको शिक्षानीति र राजनैतिमा लिंकन, चर्चिल, मून, माओ, कार्लमाक्सको जन्मदिनमात्र घोक्ने/घोकाउने परिपाटी २००४ देखि आरम्भ भएको हो भने विधिवत् शैक्षिक हस्तक्षेप २०२८ देखि (नयाशिक्षा)ले निम्त्याएको हो | दुर्भाग्यवस,पछिल्ला प्रजातन्त्रवादी, लोकतन्त्रवादी सरकार र शक्तिहरूले आफ्नो शक्ति आफ्नै पहिचान, इतिहास,सांस्कृतिक तथा धार्मिक विरासत समाप्त पार्न खर्चिरहेका छन् |
नेपाली भाषाले आफ्नो भाषा-संस्कृतिलाई दवायो भन्ने पहिचानवादीहरू पनि यहाँ नेर चुकेका छन् | उनीहरूको समुदायमा एकातिर अंग्रेजी भक्ति बलियो हुँदैछ भने अर्कोतिर अंग्रेजीसंग बुई चढेर आउने “धर्मपरिवर्तन” पनि महामारीका रूपमा प्रवेश गरेर धार्मिक तथा सामाजिक रूपमा खोक्रो बनाउँदै छ | इसाइहरू सधैं पश्चिमा शक्तिहरूको फलिफाप गर्न प्रयोग हुने गर्छन् भन्ने तत्थ्य कसैवाट लुकेको छैन |
आजको सरकार र तेसबाट पोसित शिक्षाविद्हरूको तुलना गांधीका तीनबटा बाँदरसंग गर्न मिल्छ | उनीहरू असल कुरा सुन्दैनन्, असल कुरा हेर्दैनन्, र असल कुरा निस्के “पार्टीको लाइनबाट हटाइने डरले” असल कुरा बोल्दैनन् | कुरा बुझ्नेहरूले कुरा पचाईरहेका छन् | तेसको अर्थ, प्राचीन कुरा सबै जस्ताको तस्तै स्वीकार गरिनुपर्छ भन्ने चाहिं पटक्कै होइन | प्राचीन सबै कुरा ठीक हुन्छन् भन्ने अन्धविश्वास पाल्नु हुँदैन |
विदेशीले सुझाएका हरेक कुरा मान्ने राजनैतिक संस्कारको अन्त्य नभएसम्म देश र समाजले समस्याहरूबाट मुक्ति पाउने छैन | व्याकरण, निरुक्त, चिकित्सा, वास्तुशास्त्र, सङ्गीत, शिल्पकला, पाककलाआदि विषयहरूको इतिहासमा हाम्रो अधिकार छ र विश्वले हाम्रो अनुसरण गर्नुपर्छ भन्ने तत्थ्य इतिहासले बोलेको छ | अनि, बाल्मिकी, पाणिनीजस्ता ऋषिहरूको जयन्ती मान्न प्रेरित गर्ने काम सरकार र नागरिक तन्त्रको होइन र ?
एसको प्रभाव समग्र नेपाली समाजमा परिरहेको छ | यो शिक्षानीति र राजनीतिले विदेशीलाई महापुरुष ठान्ने र विदेशीले लेखेका/बोलेका कुरालाई आँखा चिम्लेर “बैज्ञानिक” भएको भन्न लगाउने अन्धश्रद्धाको विकास गरेको छ | अर्को शब्दमा, एसलाई अंग्रेजी-भक्ति भन्न सकिन्छ | अंग्रेजीको राम्रो ज्ञान हुनु एउटा कुरा हो र अंग्रेजी भक्त हुनु दोस्रो | सरकारी शिक्षानीतिले गर्दा पटक्कै अंग्रेजी बोल्न, लेख्न र बुझ्न नसक्ने सर्वसाधारण नेपालीहरू पनि आश्चर्यजनक तवरले अग्रेजी-भक्तमा रुपान्तरित भएका छन् | एसको जिम्मेदार सरकार नै हो |
यो अंग्रेजी भक्तिले बाल्मिकी, कपिल, जैमिनी, ब्यास, पाणिनीआदि प्राचीन नेपाली दार्शनिक र तिनको अस्तित्वमा सधैं अविश्वास गर्ने/गराउने शिक्षाप्रति सरकारीस्तरबाट गरिएको मलजलले आफ्नै सांस्कृतिक इतिहास धुमिल हुँदैछ | आफ्नै हातमा बन्चरो बोकेर आफ्नै खुट्टा काट्ने जमात हावी भएको छ | सत्यले पोल्छ, तत्थ्य यही हो |
बडो दुख लाग्छ, वेद, उपनिषद, पुराणआदि प्राचीन साहित्य प्रचुर रूपमा उपलब्ध हुँदाहुँदै पनि इनका लेखकहरुको सम्झना गर्ने नेपाली शिक्षाविदहरूले (पाठ्यक्रम)मा आवश्यक ठान्दैनन् | इंग्ल्यान्डको एउटा सानो सहर क्याम्ब्रिजका विषयमा नेपाली बालबालिकाले जानकारी राख्नु राम्रो हो तर आफ्नै देशका ब्यास नगरपालिकाको ब्यास गुफा (जहाँ बसेर ऋषि वेदब्यासले महाभारतजस्तो गुरूग्रन्थ लेखेका थिए) जानकारी नहुनु निकै दुखद विषय हो |
आज नेपाली विद्वान तथा सर्वसाधारणलाई एउटा अन्धविश्वासले गाँजेको छ, त्यो हो – अंग्रेजी भाषामा बोलिएका तथा लेखिएका सबैथोक बैज्ञानिक हुन्छन् र मोडर्न हुन्छ ! हो, आज अंग्रेजी भाषाको साहित्य उन्नत बन्दैछ र मान्छेहरू यो भाषा जान्न र सिक्न चाहन्छन् तर अंग्रेजी बैज्ञानिक भाषा हो भन्ने विश्वास केवल अन्धविश्वास मात्र हो | साँचो कुरा त के हो भने अंग्रेजीमा लेखिएको अधिकांश साहित्यमा “गार्वेज” भरिएको हुन्छ, जसले मान्छेहरूलाई तीब्रतर रूपमा भ्रमित पार्ने काम गर्छ |
निश्चय नै धेरै संस्कृत साहित्यका लेखकले आफ्नो विषयमा जानकारी दिएको भेटिन्न तर हरेकको जयन्ति भने फलानो तिथीका लागि नियत छ | जव हाम्रा विद्यार्थीले कम्युनिस्ट मेनुफेस्टो कहिले लेखिएको हो जान्न सिकाइन्छ भने श्रीकृष्णले कुरूक्षेत्रमा गीताको उपदेश कुन दिन गरे भनेर जान्नु हुन्छ कि हुँदैन ? तर हाम्रो शिक्षानीतिले आफ्नो जरोकिलो बुझ्ने जान्ने अवसरबाट आफ्नै जनतालाई बन्चित गरेको छ |
एउटा विद्यार्थीले विश्वका हरेक विषयको जानकारी राख्नु उचित नै हो | विश्वका हरेक भाषा महत्वपूर्ण छन् | तर हामीले सबैथोक जान्न सम्भव हुँदैन | हाम्रो जन्म नेपालमा भएको हो भने हाम्रो प्राकृतिक नातो पनि नेपाल र नेपालीपनसंग नै जोडिएको हुन्छ | यदि शिक्षा वा राजनैतिक कारणले हामीलाई आफ्नो संस्कृति तथा रैथानेपहिचानसंग विलग गरिन्छ भने एस्तो कार्य गर्ने/गराउने अपराधी हुन् |
विश्वकै सम्भवत: सबैभन्दा ठूलो महाभारतको अंशका रूपम हरेक नेपालीहरूको रगत र मगजसंग जोडिएको दार्शनिक ग्रन्थ श्रीमद्भगवद्गीता जयन्तिको पर्व यही पुस ३ गते २०७५ मा परेको भन्ने जानकारी गराएँ |

