श्रीमद्भगवद्-गीतामा प्रयुक्त उपमा
आज गीता कालजयी ज्ञान बनेको छ | गीता पढ्ने धेरै छन् | गीताको धेरैले व्याख्या गरेका छन् | आद्य शङ्कराचार्यले पहिलो व्याख्या गरे | पश्चिमाले यो आठौँ शताब्दिको कुरा भनेका छन् | त्यस भन्दा पहिलेका व्याख्या पाइन्नन् | प्राचीन व्याख्या मात्रै १७७ बाट छन् | ती सबै मैले पढेको छैन | ५५ बटा जति पढेको छु | अहिले निम्बार्की व्याख्या पढ्दै छु | व्याख्याकार केशवकश्मिरी भट्टाचार्य हुन् | यो १२ औं शताब्दिमा लेखिएको हो |
आचार्य निम्बार्कले द्वैताद्वैतवादको व्याख्या गरेका छन् | उनीबाट नै निम्बार्क सम्प्रदाय आरम्भ भएको हो | उनले कसैको आलोचना गरेका छैनन् | उनी राधाकृष्णका भक्त हुन् | निम्बार्कीहरूले सुदर्शन चक्रको अवतार मान्छन् | कसैको आलोचना-प्रत्यालोचना गर्दैनन् | तेसैले होला, निम्बार्कीका धेरै ग्रन्थ छैनन् | मैले निम्बार्कको कुरा उठाएँ | भट्टाचार्यले गरेको गीताको कुरा गरें | किनभने उनले गीताको समन्वयवादी व्याख्या गरेका छन् | आजको विश्वलाई समन्वयवादको आवश्यकता छ | अर्को शब्दमा द्वैताद्वैतको आवश्यकता छ | भट्टाचार्यको गीता व्याख्या तत्वप्रकाशिका हो | सरल संस्कृतमा लेखिएको छ | पढ्दै छु |
गीताको अर्थ “गाइएको” भन्ने हुन्छ | धेरै गीताहरू छन् | राम गीता, उद्धवगीता, विदुर गीताआदि | सबै विशिष्ट छन् | सबैले उत्तमज्ञानको चर्चा गरेका छन् | ती व्यक्तिको नामबाट आरम्भ हुन्छन् | ती व्यक्तिको ज्ञानलाई प्रकाशित गर्छन् | यिनले प्राचीन ज्ञान-परम्परा प्रष्ट पार्छन् | तपपरम्पराको शास्त्रीय दर्शन गराउँछन् | यो महाभारतीय गीताको प्रसंग हो | यो भीष्म पर्वको २३-४० औं अध्याय हो | तेसैले गीता महाभारत पनि हो | नेपाली बोलचालमा महाभारतको अर्थ ठूलो, छिचल्न नसकिने पनि हुन्छ | गीतामा ७०० श्लोक छन् | भक्त, ज्ञानी र कर्मप्रधान सबैले मान्छन् |
भगवान् कृष्णके अर्जुनलाई गीता सुनाएका हुन् | गीताले अर्जुनलाई विषाद-मुक्त गरेको हो | गीताले अर्जुनलाई कर्मयोगी बनाएको हो | कर्मयोगी बनेर युद्ध गरेका हुन् | साथै, उनी विनम्र भक्त पनि हुन् | “मैले तपाईंको आज्ञा पालन गर्नेछु – अर्जुनले बोलेका छन् | कृष्ण र अर्जुनको सम्बाद नै गीता हो | यो गीता नै भगवद्-गीता हो | यही सम्पूर्ण वेद र वेदान्तको सार हो | कृष्णले शास्त्र मथेका हुन् | अर्जुनले त्यो नौनी प्राप्त गरेका हुन् | मान्छे भाग्यशाली छन् | त्यही नौनी आज सबैका लागि सुलभ छ | अर्जुन बन्ने कि दुर्योधन त्यो आफ्नो निर्णय हो | हरेक व्यक्ति स्वतन्त्र छ | अर्जुन बन्न र दुर्योधन बन्न !
गीताका बक्ता ब्रह्म हुन् | यो कुरा आचार्य शङ्करले उल्लेख गरेका छन् | आचार्य शङ्करले गीतामा “शारीरिक-भाष्य” गरेका छन् | प्रसिद्ध शाक्त/स्मार्त आचार्य अभिनव गुप्तले पनि श्रीकृष्णलाई ब्रह्मनै भनेका छन् | गीतार्थ सङ्ग्रह उनले गरेको व्याख्या हो | त्यसपछि असंख्य आचार्यहरूले गीतामा लेखेका छन् | सबैले गीताका बक्तालाई ब्रह्म नै भनेका छन् | तर केही आधुनिक मूर्खहरु पनि छन् | जसले कृष्णलाई गीताको बक्ता मान्दैनन् | यी शास्त्र नमान्ने “धर्मध्वज” हुन् | गीता श्रुति तथा स्मृतिको सार हो | तेसैले गीता मान्नेले शास्त्र मान्छ | शास्त्र मान्नेले गीताका प्रबक्तालाई मान्छ |
केही स्मार्त तथा शाक्तहरूले गीतालाई कम महत्व दिन्छन् | गीतालाई वैष्णव ग्रन्थ मान्छन् | गीताको विषयवस्तु महान् छ | तेसैले स्मार्तआचार्य अभिनव गुप्तले महत्व दिए | आज गीता सबै सनातनीको भएको छ | गैर-हिन्दु अध्येताको प्रिय भएको छ | आलोचकहरुको बिच आलोच्य बनेको छ | विरोधीले पनि गीताको प्रशंसा गर्छन् | गीताले आफुलाई सनातनीको धर्मग्रन्थ भन्दैन | परमसत्यको उद्घोष गर्छ | यसमा बाइबल तथा कुरानका सीमा छैनन् | गीता सीमारहित छ | गीतामा धार्मिकता, सामाजिकता, नैतिकता, दार्शनिकता सबै छ | गीता पढ्नेले शुद्ध सुखको बाटो पाउँछ | गीताले पूर्ण सन्तोष दिन्छ | गीताले पूर्णताको बाटो देखाउंछ |
गीता आध्यात्मिक साहित्य हो | अर्जुन श्रोता हुन् | कृष्ण बक्ता हुन् | कुरा बुझाउँन सक्ने सफल बक्ता हुन्छ | कृष्ण सफल बक्ता हुन् | गीता सुनेपछि अर्जुनले कर्तव्यको पालन गरे | कृष्णले गर्न नगर्न (१८/६३) स्वतन्त्रता दिएका हुन् | युद्ध गर्ने निर्णय अर्जुनको आफ्नो हो | अर्जुनले युद्ध गर्ने निर्णय गरे | बक्ता कृष्णको यो सफलता हो | कुरा बुझाउन बक्ताले जुक्ति गर्छ | उपमा र आख्यानहरूको प्रयोग गर्छ | गीतामा उपमा-आख्यान प्रयोग भएको छ | यहाँ तिनैको पहिचान गरिएको छ |
१. उदपाने (२/४६) – भगवान् श्रीकृष्णले प्रयोग गरको पहिलो उपमा हो | ठूलो तलाउ भेटेपछि सानो तलाउँको प्रयोजन न्यून हुन्छ |
२. कूर्मोऽङ्गानीव (२/५८)
३. वायुर्नावमिवाम्भसि (२/६७)
४. समुद्रमापः प्रविशन्ति यद्वद् (२/७०)
५. यथोल्येनावृतो गर्भ: (३/३८)
६. पद्मपत्रमिवाम्भसा (५/१०)
७. यथा दीपो निवातस्थो (६/१९)
८.(मन) वायोरिव सुदुष्करम् (६/३४)
९. यथाकाश: स्थितो नित्यं वायुः (९/६)
१०. तथा सर्वगतं सौक्ष्म्यादाकाशं नोपलिप्यते (१३/३३)
११. यत्तदग्रे विषमिव (१८/३७)
१२. परिणामे विषमिव (१८/३८)
१३. यन्त्ररूढानि मायया (१८/६१)
गीतामा यज्ञ
अन्नाद्भवन्ति भूतानि पर्जन्यादन्नसम्भवः।
यज्ञाद्भवति पर्जन्यो यज्ञः कर्मसमुद्भवः।।3.14।
सम्पूर्ण प्राणी अन्नबाट उत्पन्न (जीवित रहन्छन्) हुन्छन् | वर्षाबाट अन्न प्राप्त हुन्छ | यज्ञबाट पानी निर्मित हुन्छ | वैदिक कर्मले यज्ञ उत्पन्न हुन्छन् |
हरेक प्राणीका लागि उसले प्राकृतिक रूपले जीवन यापनका लागि खाने बस्तु अन्न हुन्छ | मान्छेका लागि धान, गहुँ, कोदो, फलफुल इत्यादि, चराचुरुंगीक लागि फलफुल, धान, गहुँका गेडा र कीरा फट्यांग्रा, बाघका लागि जनावर, माछाका लागि अर्को माछाआदि | हरेक प्राणीको प्राण उसको अन्नमा आश्रित छ | केही अपवादहरू वाहेक प्राणी जगत भोजन तथा पानीमा आश्रित छ |
सबै प्रकारका अन्नहरूको उत्पत्ति पानीबाट हुन्छ | पानीको अभावमा प्राणी र बनस्पति जगत केही जीवित रहन सक्दैन | हामी प्राणीको शरीरमा समेत ७२% पानी नै छ | पानीले अन्नको उत्पत्ति हुन्छ भन्नुको अर्थ हो – हरेक प्राणीले जल, जलाशय र नदीहरूको आफ्नै शरीरसरह सुरक्षा गर्नुपर्छ |
विज्ञानले प्रगति नगर्दा पनि सूर्यका किरणहरूले पानी सुकाएर वादल बनाउँछ भन्ने ज्ञान ऋषिमुनिहरूलाई थियो | अग्निमा गरिने हवन वास्पिकरणको प्रतिनिधि प्रक्रिया हो | यो कर्मकाण्ड यज्ञ हो | जीवनका हरेक कर्महरू यज्ञ नै हुन् | कर्म गर्दा पानी जल्छ | परिश्रम गर्दा पसीना बग्छ | यही यज्ञको प्रक्रिया हो |
ऋषिमुनिहरूले मात्र होइन सम्पूर्ण देवीदेवताहरू यज्ञका आश्रित छन् अर्थात् कर्मन्य छन् | आकर्मन्य व्यक्ति वा समाजले यज्ञलाई “सेक्रीफाइस” अर्थात् त्याग वा हिंसाका रूपमा लिन्छ | गीताले जीवन यज्ञको कुरा गर्छ | शास्त्रीय यज्ञहरूका माध्यमले मोक्षयज्ञको बाटो निर्धारित गर्छ |

