गीताको व्याबहारिक परिचय 

गीताको व्याबहारिक परिचय 

गीताको व्याबहारिक परिचय 

महाभारत एउटा संस्कृतको विशालकाय महाकाव्य हो | महाभारतकै सानो अंश गीता हो | धेरैले गीतालाई “श्रीमद्भगवद्-गीता” पनि भन्छन् | कृष्णले गाएको हुँदा यो गीता भएको हो | वेदब्यासले कृष्णले दिएको प्रवचनलाई श्लोक बनाएर महाभारतमा राखेका हुन् | गीता महाभारत नै हो | यो आध्यात्म जगतको सरल, सजीव र अर्थपूर्ण महाभारत हो | सरल, सहज, सन्तोषमय, पूर्ण तथा आनन्दपूर्ण जीवन सिकाउने पूर्ण संगीत हो |
महाभारतका यी सातशय श्लोकले महाभारत चर्चाको विषय बनेको छ | किनभने यी श्लोकहरू आध्यात्मिक जगतका पूंजी हुन् | अध्यात्ममा विश्वास नगर्नेहरूका लागि विज्ञान हुन् | दर्शनशास्त्र, मनोविज्ञान, सामाजिक शास्त्र गीताले सबै समेटेको छ | गीता ज्ञान-विज्ञान हो भन्नेहरू धेरै छन् | गीताबाट प्रेरणा लिने धेरै छन् | गीतालाई धर्म ग्रन्थ ठान्नेहरू पनि धेरै छन् | गीतालाई आध्यात्मिक सम्पदा मान्नेहरू पनि धेरै छन् | गीतालाई केवल “हिन्दू”को धार्मिक ग्रन्थ भन्ने पनि धेरै छन् | गीतामा जसले जे-खोज्दछ, त्यही प्राप्त गर्छ | एसै भन्नुपर्छ |
कृष्णले गीताको उपदेश युद्धको मैदानमा गरेका थिए | गीता सुनेपछि अर्जुनले आफै युद्ध लड्ने निर्णय गरे | लडाई लडे | युद्धमा विजयी बने | सबैलाई थाहा छ, युद्धको अर्थ विनाश हो | ठूलो विनाश भयो | अर्जुनले विनाशकारी लडाई लडे | युद्ध अर्जुनको निर्णय थियो, गीताको होइन | तेसैले गीता स्वेच्छिक निर्णय गर्न नसक्नेहरूका लागि “निर्णय”को प्रेरणा हो | आत्मिक परामर्शको अदभूत उपक्रम हो |
गीतालाई धार्मिक ग्रन्थका रुपमा बुझ्नेहरूका लागि कृष्ण र अर्जुन दोषी छन् | तर गीतालाई कर्तब्यग्रन्थको रूपमा बुझ्नेहरूले एस्तो ठान्दैनन् | पान्थिकहरू आदेशको पालन गर्छन् | धार्मिक गुरू वा पुस्तकको आदेश सर्वोपरि हुन्छ | अर्जुनले कृष्णको आदेश पालन गरेका होइनन् | गीता सुनेपछि लडाई लड्ने निर्णय गरेका हुन् | महाभारतको युद्ध अर्जुनको स्वेच्छिक कर्म हो |
गीता पान्थिक ग्रन्थ पटक्कै होइन | गीताको कुनै पनि श्लोकले “मलाई मान्नेहरू हिन्दू हुन्” भन्दैन | बाइबल इसाईको धर्म ग्रन्थ हो | कुरान मुस्लिमको धर्मग्रन्थ हो | त्रिपिटक बौद्धहरूको धर्मग्रन्थ हो | तर गीता हिन्दूहरूको धर्म ग्रन्थ होइन | किनभने स्वयं गीताले एस्तो घोषणा गरेको छैन | जैन, बौद्ध, इसाई, मुस्लिम पन्थहरूलाई “धर्म” बुझ्नेहरूले गीतालाई धार्मिक ग्रन्थ भन्छ | गीतालाई बुझ्नेले गीता नै धर्म हो, कर्तब्य हो, विश्वदृष्टिकोण हो – भन्छ |
गीता पाठ गर्दा गर्दा करिव डेढ घण्टा लाग्छ | यो संस्कृतभाषाको लघुकाब्य हो | संस्कृत बुझ्नेहरूका लागि यो निकै सजिलो छ | संस्कृत नबुझ्नेहरूका लागि तेसै पनि सजिलो हुने भएन | तर केही अभ्यास गर्दा बुझिन्छ | संस्कृत असजिलो भाषा होइन | संस्कृतको तेजोबध गर्न विदेशीहरूले षड्यन्त्र रचेको हो | हामीले विदेशीको कुरा पत्याएको हो | अंग्रेजी विदेशी भाषा हो | कत्ति पनि सजिलो छैन | संस्कृत रैथाने भाषा हो, हामी बोल्दा ४०% संस्कृत नै बोल्छौँ | नेपाली, हिन्दू, बंगाली, असमेली, मैथिली सबैका संस्कृत छ | तेही संस्कृत गीतामा छ |
बाइबल पढ्नु राम्रो हो | कुरान पढ्नु पनि राम्रो हो | जुनसुकै पन्थका किताव पढ्नु राम्रो नै हो | तर गीता नपढ्नु कमसल हो | जीवन दर्शनबाट बन्चित हुनु हो | एउटा सम्पूर्ण जीवनप्रतिको अनविज्ञता हो | अवसर हुँदाहुँदै पनि अमृतबाट बंचित हुनुहो | आफ्नो र विश्वको असली जीवनदर्शनसंग अपरिचित रहनु हो | मिश्रीको खानिमा बसेर नुन खोज्नु हो |
मैले पहिलो पटक गीता पढेको ५ वर्षको उमेरमा हो | तेस बखत मैले गीता घोकेको थिएँ | बुवाको आदेश पालन गरेको थिएँ | मैले गीताको अर्थ बुझ्ने कुरै थिएन | हाम्रो घरमा बस्ने बटुकहरू गीता घोक्थे | वेद घोक्थे | चण्डी, सप्तसति तथा अग्निस्थापना सबै घोक्थे | कौमुदी पनि घोकेरै सकिन्थ्यो | तर मलाई भने गीता मन पर्थ्यो | ५३७ वर्ष पुरानो किताव खोलेर पढ्न साच्चिकै मन पर्थ्यो | तर गीताको उपदेश अर्जुनका लागि गरेका थिए भन्ने बुझ्न मलाई १८ वर्ष लागेको थियो |
मैले पहिलो पटक गीताको अर्थ बुझ्न २२ वर्ष कुर्नु पर्यो | १०६ वर्षका सन्यासी केशवानंद सरस्वतीले मलाई गीता पढाए | स्वामीजीको त्यागमय जीवन शैली, जीवनप्रतिको बुझाई, कर्तब्यशीलता, स्वाभिमान र निर्दोष चेतनाले मलाई गीता बुझाएको थियो | म दर्शनशास्त्रको तर्कशील, जीज्ञासु र संदेही विद्यार्थीलाई गीताले शान्त पारेको थियो | मैले सन् १९९२ को मे महिनामा बुझ्न सकें कि गीताको तुलना अन्य पान्थिक ग्रन्थसंग हुँदैन | आध्यात्मिक जगतका लागि गीता नै निर्विकल्प ग्रन्थ हो |
हरेक मान्छेको जीवन महाभारत हो | अपूर्णतामा पूर्णताको खोजी हो | हरेक व्यक्ति अर्जुन हो, जुन आफैमा अनिर्णयके ग्रस्त छ | चिन्ता, निराशा, मोह, ममता, डर, कर्तब्य तथा अकर्तब्यका वीच द्वन्द गरिरहेको छ | द्वन्द भोगिरहेको छ तर निकास उसको हातमा छैन | पहिले आफुसंग र अनि, आफ्नो वरिपरीसंग पिरोलीरहेको छ | हरेक मान्छे अर्जुन बनेर कर्तब्य र अधिकारको द्वन्दमा रुल्मुलिएको छ |
जवसम्म कृष्णको प्रवेश हुँदैन (गीताको) तवसम्म मान्छेले प्रश्न पनि गर्न सक्दैन | किम्कर्तब्य विमूढतालाई अनि आफ्नो ज्ञान ठान्छ | आर्य र अनार्यको आन्तरिक द्वन्दले गर्दा कर्म, अकर्म र विकर्मको पार्थक्य बुझ्न सक्दैन | आत्मसमर्पणले आत्मप्रकाशन हुन्छ | कर्म र कर्तब्यको बोध हुन्छ | अनेकतामा एकता र एकतामा अनेकताको सरल प्रकाश हुन्छ | मानसिक द्वन्दहरूको समाधान हुन्छ |
प्रज्ञा र कर्म मानिससंग जोडिएका यी दुई अनिवार्य विषय हुन् | ज्ञान मान्छेको विशिष्टता हो | कर्म नगरी मान्छे बस्नै सक्दैन | कर्म र ज्ञानको संयुक्त स्वरूप नै मान्छे हो | दोस्रो अध्यायले निष्काम कर्मको उपदेश दिन्छ | तेस्रो अध्यायले संज्ञानयुक्त कर्मको वखान गर्छ | संज्ञानरहित कर्म पशुले गर्छन् | पशुले आफ्ना कर्म रोक्न सक्दैनन् | मान्छेको बौद्धिकताले कर्ममा नियन्त्रण गर्छ | गीता भन्छ, हरेक व्यक्तिले आफुले गरेका कर्मको उत्तरदायित्व ग्रहण गर्नैपर्छ | तेसैले गीता उत्तरदायित्वको शास्त्र हो | गीता बुझ्नेहरू आफ्नो कर्मप्रति अनुत्तरदायी हुँदैनन् |
मान्छे भावनात्मक प्राणी हो | प्रेम, घृणा, क्रोध, लोभ, मोहआदि मनोवैज्ञानिक तत्थ्यहरू कसैले नकार्न सक्दैन | भावनात्मक मान्छेले भावना रहित भएर काम गर्न सक्दैन | यो भावना भक्ति हो | भक्ति जीवनको सर्वोच्च चेतना र समर्पण हो | समर्पणले जीवनलाई सहज, सरल र प्रेमील बनाउन मदत गर्छ | केवल ज्ञान तथा कर्मको आदर्शमा हिड्नेहरू भावनात्मक रूपले निर्जीव हुन्छन् | गीताले भक्तिमय जीवन र सरसताको उच्चतम आदर्श दिन्छ |
गीताको आदर्श ज्ञान पनि हो | ज्ञानको अर्थ संज्ञानमय जीवन हो | संसारका धेरै मान्छेहरू बेहोसीको जीवन बाँच्ने गर्छन् | धेरै मान्छेहरू वेहोसी मै मर्छन् | वेहोसीमा जिउने मानिस र पशुमा कुनै फरक हुँदैन | आहार, निद्रा, डर र यौनमा पशु र मान्छे समान हुन्छन् | ज्ञान नै मान्छे र पशु बीचको फरकपना हो | गीताले हरेक विषयवस्तुमा होसपूर्ण बाँच्न प्रेरित गर्छ | बेहोसी जीवन होइन | होसपूर्ण जीवन जिउनेहरू भौतिक, आध्य्यात्मिक र आधिभौतिक जीवनको लक्ष र महत्व बुझ्ने गर्छन् | गीताले हरेक मान्छेलाई “होसपूर्ण” जीवनको प्रेरणा दिएको छ |
कर्मको उत्स सत्कर्म हो | ज्ञानको उत्स मोक्ष हो | भक्तिको उत्स भगवानको सामिप्य हो | यी सबैको प्राप्ति मान्छेले आफै प्राप्त गर्ने हो | सत्व, रजस र तमोगुणले निर्मित मानवीय व्यक्तित्व हरेक मान्छेसंग गाँसिएको हुन्छ | हरेक व्यक्तिको व्यक्तित्व सत्व, रजस र तमोगुणले प्रभावित भैरहेको हुन्छ | भावनात्मक मान्छेले भक्तिको बाटो रोज्नुपर्छ | तर्कप्रधान मान्छेले ज्ञानको बाटो रोज्नुपर्छ | कर्मप्रधान मान्छेले वैदिक कर्मको बाटो रोज्नुपर्छ | गीताले व्यक्तित्व अनुसारको बाटो अपनाउने स्वतन्त्रता दिन्छ |
गीता स्वतन्त्र-संकल्पको उपदेश हो | धार्मिक कितावहरूले मान्छेलाई ईश्वरको दास ठान्छन् | तर गीताले स्पष्ट रूपमा निर्णय र सङ्कल्पको स्वतन्त्रताका वकालत गरेको छ | बाइबल इसाईहरूको पक्षमा उभिन्छ | कुरान मुसलमानका पक्षमा वकालत गर्छ | त्रिपिटक बौद्धहरूको पक्षपात गर्छ | तर गीता केवल मानवको स्वतन्त्रताको कुरा गर्छ | शास्त्रीय प्रमाणिकताको कुरा गर्छ |
अन्धविश्वासको आरम्भ कसले गर्यो ? भन्न सकिन्न | सानो-ठूलो र छुत’अछूत पनि अमुक बखतको अन्धविश्वास हो | गीताकारले मान्छे-मान्छेका वीचको छुत-अछूतको निराकरण गर्यो | हरेक मान्छेको व्यक्तित्व कर्मले निर्मित हुन्छ | मान्छेको जात हुँदैन | मान्छेको कर्म हुन्छ | असल र खराव कर्मले मान्छेको व्यक्तित्व निर्मित हुन्छ |
हरेक मान्छेले आफ्नो जीवनको निर्णय स्वयं गर्नुपर्छ | प्रकृतिले मान्छेले मौलिकगुणहरूमा चल्ने बनाएको छ | कुनै पनि प्राकृतिक मानिसले आफ्नो मौलिकप्रकृतिको उलंघन गर्न सक्दैन | आफ्नो मौलिक व्यक्तित्वलाई चिनेर, बुझेर, तेसअनुसार कर्म गर्नेहरूको जीवन सरल तथा सहज हुन्छ | आफ्नो मौलिक प्रकृति नबुझी कर्म गर्नेहरूले दुख पाउँछन् -गीताको यो बुझाई सबैको यथार्थ हो |
श्रीमद्भागवद्हगीता हिन्दूहरूका लागि वेद, उपनिषद् तथा पुराणहरूको सारतत्व हो | मुसलमानहरूका लागि कुरानको सत्व हो | इसाईहरूका लागि बाइबलको आत्मा हो | गीताले पन्थ होइन धर्म सिकाउँछ | गीता पढ्ने मुसलमानमा कट्टरता होइन करुणा उत्पन्न हुन्छ | गीता पढ्ने इसाईले आध्यात्मिकताको अर्थ बुझ्छन् | गीता पढ्ने नास्तिकहरूले मौलिक प्रकृतिका रूपमा अविनाशी विश्वको साक्षात्कार गर्छन् |
गीता पाठ गर्ने ग्रन्थ होइन | यो धर्मकर्म गर्ने ग्रन्थ होइन | यो एस्तो औषधि हो जसले प्रयोग गरेपछि मात्र फल दिन्छ | श्रीकृष्णले “वेद तथा उपनिषद”को सारतत्वका रूपमा दुहेको हुँदा यो अमृत नै हो | आगोले जस्तोसुकै अवस्थामा पोल्छ | भक्तिपूर्वक पाठ गर्नेले पनि मोक्ष पाउँछ | ज्ञानपूर्वक स्वाध्याय गर्नेले पनि मोक्षा प्राप्त गर्छन् |
हरेक नेपालीले गीता पढ्नैपर्छ | यो एउटा आस्था र तर्कले भरिपूर्ण ग्रन्थ हो | यो ग्रन्थले हरेक व्यक्तिलाई सम्पूर्ण जीवन जिउने प्रेरणा प्रदान गर्छ | आत्महत्या गर्न तम्तयारहरूलाई “महाभारत लड्न” उठाउँछ | कर्म, अकर्म र विकर्म वीचको दुईधारमा उभिएकाहरूलाई कर्तब्य निर्णय गर्ने साहस दिन्छ | साथै, निष्कामकर्मको उपकारमय जीवन निर्वाह गर्ने “कर्म, भक्ति र ज्ञानयोगीहरूको स्रोत बन्छ |”
जीवनबाट निराश भएकाहरूले गीता अवश्य पढून् | हरेक समय चिन्ता र शोकले पीडित भएकाहरूले गीता अवश्य पढून | असल र खराव वीचको फरकपन बुझ्न नसक्नेहरूले गीता अवश्य पढ़ूँन् | आध्यात्मिक जीवनको उत्कर्ष खोज्नेले श्रीमद्भगवद्-गीताको अध्ययन गरूँन् | आफ्नो धर्म, संस्कृति तथा जरोकिलोको रक्षा गर्नेले गीताको अवश्य अध्ययन गरूँन् |
ज्ञान, भक्ति, योग तथा त्यागमय जीवनको रस खोज्नेले गीता अवश्य अध्ययन गरुन | वैदिकशास्त्रहरूको सारतत्व बुझ्न चाहनेले गीताको अध्ययन अवश्य गरूँन् | आफ्नो सनातन धर्म जोगाउँछु भन्नेले हरेक नेपालीले गीताको “स्वधर्मे निधनम् श्रेय: परधर्मो भयावह:” भन्ने उद्घोष अवश्यको मनन गरूँन् | स्वदेश, स्वधर्म र मातृभूमिको रक्षा गर्नेहरूले गीता पढ़ूँन् | नेपाललाई धर्मपरिवर्तनको भूमरीबाट सुरक्षित पार्छु भन्नेले गीताको अध्यापन/अध्ययन अवश्य गरूँन् |
अन्त्यमा, ५०१५१ गीता जयन्तिले सबैको लागि सनातन धर्ममा प्रतिबद्ध हुने प्रेरणा प्रदान गरोस् |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *