कारखाना कि शिक्षालय !
(फरक दृष्टिकोण)
विद्यालय शिक्षामा विश्वका सरकारहरूले ठूलो लगानी गरेका छन् | सकेसम्म विश्वका हरेक मातापिताले आफ्ना बालबालिकालाई विद्यालय पठाउन चाहन्छन् | धेरै सरकारहरूले अभिभावकहरूलाई आफ्ना बालबालिका विद्यालय पठाउन बाध्यकारी बनाएका छन् | नेपालमा पनि कानुनी ब्यबस्था एस्तै छ तर कार्यान्वयको पाटो फितलो छ |
आजको मनोविज्ञानले हरेक बालबालिकामा फरकफरक प्रकारको ट्यालेन्ट हुने कुरा प्रमाणित गरेको छ भने हार्वर्ड गार्डनरले व्यक्तिहरू कमसेकम नौप्रकारका फरक-फरक क्षमता हुने प्रमाणित गर्ने प्रयत्न गरेका छन् |
एता वैदिक साहित्यले हरेक व्यक्ति कमसेकम पढैया, लडाकु, ब्यापारी र कामदार यी चारप्रकारका बौद्धिक क्षमताको हुने भनि उल्लेख गरेकै छन् | संस्कृत साहित्यमा यो घोषणा जताततै पाइन्छ | पछि, यी बौद्धिक क्षमता ठूलो-सानो जातिमा रुपान्तरित भएर रूढी बन्न पुग्यो |
मेरो प्रश्नको जरो यहीबाट आरम्भ हुन्छ | आधुनिक समयमा कमसेकम १८ वर्षको उमेरसम्म हरेक बालबालिका (कहीं १६ वर्ष) सम्म विद्यालय शिक्षा प्राप्त गर्छन् | सामान्यतया, विश्वका हरेक सरकारले कक्षा १ देखि १२ सम्म आ-आफ्नो देश, प्रान्त अनुसार सिलेवस तयार पारेको हुन्छ | तेस देश, प्रान्त वा गाउँमा वसोवास गर्ने हरेक विद्यार्थी (शिक्षार्थी) एकैप्रकारको शिक्षा प्राप्त गर्न बाध्य हुन्छन् |
एकातिर जेम्स, हार्वर्ड गार्डनरको खोज अनुसारको शिक्षा दिने भनेर धक्कु लगाउने अर्कोतिर एकै प्रकारको शैक्षिक सामग्री स्वीकार गर्न बालबालिकालाई बाध्य बनाइने !! यदि हरेक बालबालिका फरक हुन् भने १६ वा १८ वर्षसम्म एकैप्रकारको सिलेवस किन ? आधुनिक “झोला भरी किताव बोक्ने” पद्यतिको शिक्षा नीतिले सबैलाई “कितावको ब्याख्या गर्ने सक्ने” बनाउला तर “खेतमा गएर जोत्ने, सामाजिक सेवा गर्दा गर्वित हुने” शिक्षा प्रदान गर्न सक्दैन |
आधुनिक विद्यालयहरू एकै प्रकारको कितावी ज्ञान दिने ब्यबसायिक “साँचा” मात्र हुन् | १८ वर्षको लामो उमेरसम्म सिकेको ज्ञानलाई १९ लागेपछि विविधता बनाउन सकिन्छ भन्नु काकताली मात्र होइन र ? आधुनिक विद्यालयहरूलाई बालबालिकाको असली प्रतिभा झिकेर रेडिमेड प्रतिभा थोपर्ने “प्रायोजित कारखाना”संग तुलना गर्दा कुनै फरक पर्दैन | आधुनिक शिक्षा पद्यति सक्कली मान्छेलाई नक्कली बनाउने बलिया फार्म-हाउस् वा कारखाना हुन् भन्न मिल्छ |
आजका विद्यालयहरू एकैखाले सामान उत्पादन गर्ने कारखानामात्र हुन् | फरक एत्ति छ कि फरक-फरक मान्छेले फरकफरक कारखाना खोलेका छन् | जसरी उत्पादक कम्पनीहरूले आफ्नो समान बेच्न फरक नाम, मूल्य राखेका हुन्छन् तेसरी नै आधुनिक पाठशाला रूपी कारखानाहरूले फरक-फरक शैली, रूप, रंग र मूल्यमा एकैप्रकारको माल उत्पादन गरिरहेका छन् | सिटामोल नामक औषधिका विश्वभरी १३३७ ब्रान्ड छन् |
हो, अमेरिका विकसित छ र नेपाल अविकसित | कक्षाकोठामा प्रयोग गरिने वस्तु, कक्षाकोठाको वनावट, शिक्षकआदिको तलवआदि फरक होला तर मूलवस्तु अर्थात् उत्पादन गर्न खोजेको “माल” एकै प्रकारको हुनुपर्ने मनसायमा कुनै फरक छैन | केवल सफा र मैलोसम्म सीमित छ | हाइजिन र नन-हाइजिनको फरक छ |
यदि अमेरिकाको शिक्षा विश्वमा सबैभन्दा उत्कृष्ट र बालबालिकाको क्षमताको आधारमा संचालित हुन्थ्यो भने ९८.३% अमेरिकनहरू कम्पनीका मालिक हुन्थे | जवकि तत्थ्यले ९८.७% अमेरिकनहरू जागिरे अर्थात् अर्काको कारखानामा काम गर्ने मजदूर छन् | बरू, नेपालजस्ता गरिव मुलुकहरूमा आत्मनिर्भर नागरिकहरूको संख्या बढी छ |
दुर्भाग्य नै भन्नुपर्छ गरिव भएर पनि आत्मनिर्भर रहेको नेपाली समुदाय आधुनिक शिक्षा प्राप्त गरिरहँदा क्रमश: परनिर्भर हुँदै गइरहेको छ | आफ्नै खेतआ विजयीभावले काम गर्ने नेपालीहरू क्रमशः अर्काका कामदारका रूपमा रुपान्तरित भैरहेका छन् | आफ्ना जनता मालिकबाट कामदार हुँदा सरकार नै औधि खुसी देखिन्छ | र आधुनिक शिक्षाको नाममा विच्छ्याइएको माखेसाङ्गोमा परेका शिक्षित कामदारहरू “नोकर” बनेकोमा आत्मगौरव गर्ने स्थिति आएको छ |
धेरैले भन्नुहोला विद्यालयमा सबैखाले सिलेवस हुन्छन् र तिनले हरेकको क्षमतालाई बुस्ट गरिरहेको हुन्छ ! एस्तो सोच र उत्तर नियोजित तरिकाले अभिभावक र बालबालिकालाई झुक्याउन तयार पारिएको स्वचालित झूटको पोका हो | अंग्रेजहरूले आधुनिक शिक्षाको विकास “नाफामुखी उद्योगका लागि चाहिने आवश्यक कामदार”उत्पादन गर्न स्थापित गरेका थिए | तेसैले अहिलेका विद्यालयमा पढ्नेहरू मध्ये केवल ०.५ बालबालिकाहरू भविष्यमा उद्योगी बन्छन् र ९९.५.% विद्यार्थीहरू कामदार बन्ने निश्चित छ | पदचाहे जेहोस्, कामचाहिं मजदुरी नै हुन्छ |
कुरा जतिठूलो गरे पनि एउटा कोठामा, एकै प्रकारको सिलेवस र एउटा शिक्षक वा शिक्षिकाले पढाउने पाठ्यसामाग्रीले हरेक बालबालिकाको व्यक्तिगत प्रतिभाको उत्थान हुन्छ भन्नु सूर्यलाई हत्केलोले छोप्नु सरह हो | जस्तो साँचो (भाँडा बनाउने खांचा) हुन्छ, भाँडो त तेस्तै वन्छ | यदि कुनै फरक निस्कियो भने त्यो बथानबाट हटाएर फोहोरको थुप्रोमा फालिन्छ | मलाई लाग्छ, आधुनिक विद्यालय एडुकेशनले कुनै पनि अवस्थामा बालबालिकाको प्राकृतिक प्रतिभा (गार्डनर वा गीताले बताएअनुसारको) सुरक्षा गर्नै सक्दैन |
बरू प्राचीन गुरुकुल पद्यतिमा गुरूहरूले हरेक बालबालिकाको व्यक्तिगत प्रतिभा चिनेर उसको क्षमताअनुसार अध्यापकीय, प्रशासकीय, ब्यापारीक वा सेवामूलक शिक्षा प्रदान गर्थे | ८ वर्षको उमेरमा बालबालिका गुरुकुल प्रवेश गर्दा नै गुरूले उसको प्राकृतिक क्षमता चिन्थे र सोहीअनुसारको शिक्षा आरम्भ गर्थे | कोही राजा बन्थे भने कोही ब्यापारी त कोही कृषक वा सेवादार र कोही केवल डोले मात्र बन्न सक्थे |
मलाई थाहा छ, आधुनिक शिक्षा पढेर नोकर बनेकाहरूका लागि मेरो लेख पच्नेछैन | तर सत्य तीतो हुन्छ | नोकरले मालिकको भाषा बुझ्न सक्दैन | गुरूकुल शिक्षाले मान्छेलाई “स्वत्व”मा स्थापित गर्थ्यो | गुरुकुलमा पढेका प्राचीन शिष्यहरू सधैं आफ्नो मालिक आफै हुन्थे | आजको शिक्षा पढेर यदि कुनै मालिक बन्न सक्यो भने काकताली मात्र होइन, वर्तमान शिक्षाप्रणालीको ठूलो असफलता नै हो भन्न मिल्छ कि ?
विश्वास गर्नुस् वा नगर्नुस्, अहिलेको शिक्षा पद्धतिले “आत्मनिर्भर अर्थात् स्वामी”हरूको संसारको सदस्य बनाउन सक्दैन | किनभने जसले यी कारखानाहरू पहिलो पटक स्थापित गरेको थियो, उसले यी कारखानाहरूबाट उत्पादित जनशक्ति केवल कामदार होस् र उसको नाफा बढाओस् भन्ने चाहान्थ्यो | र अहिले एस्तै भैरहेको छ | विश्वको ८५% धनसम्पतिमा केवल ३% मान्छेहरूको स्वामित्व छ | यदि वर्तमान शिक्षाले स्वावलम्बी जनशक्तिको उत्पादन गर्ने खुवी राख्दो हो त ९३% जनताहरू विश्वको ८५% सम्पत्तिका मालिक हुन्थे !!
विदेशी भाषा, विदेशी सोच र विदेशी साँचोमा कुँदिएर उभिएका विद्यालयहरूको आफ्नो न जरो छ न किलो नै | आफ्नो मौलिकतासंग घृणा गर्ने, आफुमा भएको कस्तुरीलाई दुर्गन्ध भन्ने र आफ्नो मौलिक सीपहरूसंग असहमत हुने सोच तथा ब्यबहारलाई संस्थागत गर्दा गौरव ठान्ने र केवल प्रतिस्पर्धा जित्नका लागि मात्र शिक्षित हुनुपर्छ भन्ने मान्यताको जगमा उभिएको शिक्षाले सुख, शान्ति तथा पूर्णताको ढोका खोल्न सक्दैन | बरू, नोकर बनेर दुई पैसा कमाउने हैसियत प्राप्त गर्नुलाई नै शिक्षाको उपलब्धि ठान्ने पात्रहरूको विकास गर्छ |
यदि कसैले यी विद्यालयहरूमा पढेर निस्केको व्यक्ति आत्मनिर्भर बन्ने छ भनेर आफ्ना बालबालिकालाई विद्यालयमा पठाउँछ भने उसले ठूलो भूल गर्दै छ | नोकरहरू उत्पादन गर्ने कारखानाहरूले मालिक उत्पादन कसरी गर्न सक्छ ? हामीले अनुभव गर्न सक्छौं जसरी-जसरी नेपालमा शिक्षाको विस्तार हुँदैछ मान्छेहरू क्रमशः पराधीन हुँदैछन् | देशमा मात्र होइन विदेशमा गएर समेत नोकर बन्दैछन् | अरूको मूल्यमा आफुलाई वेच्न बाध्य हुँदैछन् |
आधुनिक शिक्षा पद्धति निर्विकल्प छ भन्नेहरूले मेरा प्रश्न र तर्कको तार्किक उत्तर त दिनैपर्छ र यदि संसारका १००% मान्छेले उच्चशिक्षा प्राप्त गरे भने शिक्षाको आवश्कता र सान्दर्भिकता रहन्छ कि रहन्न ? भन्ने विषयको जवाफ पनि हुनैपर्छ” द गार्जियनले कुनै वखत प्रश्न गरेको थियो |

