Danpatra

दानको दुरुपयोग नहोस् !

धार्मिक कार्यहरूमा दानदातव्य गर्दा निकै होस् पुर्याउनु पर्छ | धर्मभीरू मनोविज्ञानको फाइदा उठाएर धर्मका नाममा इमोशनल-व्याकमेलिंग गर्ने धूर्त र विनम्र, सदाचारी, परम्परागत एवं त्यागी गुरुका विचको अन्तर जान्नेपर्छ | शास्त्रको मर्यादा नमान्ने र आफ्नो निजी अनुभवलाई शास्त्र भन्दा बढी मान्ने धूर्त हुन्, गुरूको चोला हुँदैमा, प्रभावसाली तरिकाले बोल्दैमा, महफिल सजाउंदैमा कुनै पनि धुर्त गुरू बन्न सक्दैन |
दुर्भाग्यवस आजको तथाकथित आधुनिक पुस्ताहरू माथि भनिएका बचाल र शास्त्रको आदर्श भन्दा आफ्नो अनुभवलाई ठूलो ठान्ने धूर्तहरूको इमोशनल ब्ल्याकमेलिंगमा धन्सिएका छन् | सबै राम्रो तथा आकर्षक देखिने, सुनिने र बोलिने विषयहरू शास्तीय हुँदैनन् | कहिलेकाहीं शास्त्रीय विषयवस्तुहरू कठोर हुन्छन् | शास्त्रका आदेशहरूको पालन नगरेर धूर्तहरूको आदेश पालन गर्नेहरूले ब्रह्मप्राप्ति गर्न सक्दैनन् अर्थात् अध्यात्मिक लाभ प्राप्त गर्दैनन् |
यो भनाई कुनै व्यक्ति विशेषप्रति लक्षित होइन | जो व्यक्तिले कपटी गुरू बनेर छलकपट गर्दै शास्त्रीय आदर्शहरूको धज्जी उडाइरहेका छन्, तिनका लागि हो | शास्त्रको आवरणमा शास्त्रले “गर्नु हुँदैन” भनेको काम गर्ने धर्मध्वज हुन् | यस्ता धर्मध्वजहरूलाई गुरू मान्ने उनीहरूका सेक्सी कुरा पत्याएर पछि लाग्ने सबै शास्त्रका अनुसार नर्कमा जाने हुन् | धेरै आश्रम जोड्दैमा, महंगा गाडी चड्दैमा, धेरै चेलाचेली बनाउँदैमा, प्रभावकारी बोल्दैमा, अंग्रेजीमा बोल्दैमा, सुनचांदीका छत्रदण्ड हुँदैमा, आफ्नो नामको अगाडी अनन्तश्री, एकहजार आठ, जगद्गुरू वा प्रमुख जगद्गुरू लगाएर जयजय गराउंदैमा कुनै व्यक्ति उत्तमसन्त वा गुरू हुँदैन | सम्बन्धित गुरूको शास्त्रप्रति निष्ठा, सदाचार, त्याग, विनम्रता तथा साधनाले गुरुत्व निर्धारण हुन्छ | डेमोक्रेसीका आधारमा गुरुको गुरुत्व निर्धारित हुँदैन |
एउटा कुरा शास्त्रले पक्का गरेको छ : भौतिक आडम्वर गर्ने, एसी तथा पांचतारे सुविधा बाहेक बाहिर ननिस्किने र सधैं विश्वगुरू तथा जगद्गुरूजस्ता उपाधिमा आफ्नो परिचय खोज्ने व्यक्ति उत्तम गुरू वा आचार्य हुनै सक्दैनन् | यस्ता भोगीहरूले चेलाचेलीलाई इमोसनल ब्याक-मेलिंग गरेर सुखसुविधापूर्ण जीवन बाँच्न सफल होलान् तर अध्यात्मको लक्ष अर्थात् मोक्षका लागि योग्य हुँदैनन् | त्याग, साधना, सरलता, सहजता एवं शास्त्रप्रति निरपेक्ष निष्ठा तथा करुणा नै गुरुका प्रमुख गुण हुन् | यस्ता गुरूले आरम्भ गरेका प्रकल्पहरूका लागि दिएको दान मोक्षका लागि सहयोगी हुन्छ | अन्तिम कुरो, यस्ता गुरूले दान माग्दैनन् र कुनै प्रकारको दानदातव्य स्वीकार नै गर्छन् | परमार्थको जीवन्त अभ्यास यहीं हुन्छ र विश्वको कल्याण पनि | महाफिली कुरा गर्ने कपटीले मनोरन्जन दिन्छन्, मोक्ष होइन |
नेपालीमा दान दिने बाकसको नाम “दानपात्र” हुन्छ | यसको अर्थ हो जड-बाकसको लागि पनि दान ग्रहण गर्ने योग्यता हुनु पर्दो रहेछ | गीताको १८ औं अध्यायमा दानको पात्रता वारे वर्णन गरिएको छ | कुपात्र, पाखण्डी, केवल आफ्नो लागि मात्र बाँच्ने, अभिमानी तथा केवल व्यक्तिगत भोगका लागि दान दिनु हुँदैन | मैले मेरो बाल्यकालमा आश्रमहरूमा चहार्दै गर्दा बुझेको कुरा के हो भने गुरुकुल, गौसेवा तथा गरिवको सेवाका नाममा धूर्तहरूले दानदातव्य माग्छन् | दानदातव्य माग्ने सबै धूर्त हुँदैनन् र सबै साधु पनि हुँदैनन् | यदि तपाईंको दान धूर्तहरूका हातमा पर्यो भने नर्कमा लैजान्छ | तेसैले दान दिंदा चटकेमटके, सेक्सी, ठूलो पेट भएका, धेरै आश्रम र चेलाचेली भएकाहरू भन्दा विनम्र, सरल र निरपेक्षहरूलाई रोज्नु बढी शास्त्रीय हुन्छ |
एकपटक श्रीमद्भगवद-गीताको अध्याय १६ बाट २३ तथा २४ श्लोक अवश्य पढ्नुहोस् | कुरा आफै बुझिन्छ |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *